१२ औं महाधिवेशन सम्पन्न भएको झण्डै एक महिनापछि कांग्रेस नयां केन्द्रीय कार्यसमितिको बैठक कार्तिक १२ गते बस्ने

काठमाडौ, कार्तिक ४ – १२ औं महाधिवेशन सम्पन्न भएको झण्डै एक महिनापछि कांग्रेस नयां केन्द्रीय कार्यसमितिको बैठक यहि कार्तिक १२ गते बस्ने भएको छ । बिहीबार पार्टी सभापति सुशील कोइराला नेतृत्वमा उनकै निवास महाराजगंजमा बसेको नयां पदाधिकारी र पार्टीका वरिष्ठ नेताहरु सहभागि रहेको बैठकमा शान्ति प्रक्रिया, संविधान निर्माण केन्द्रीय समितिको बैठकको बारेमा छलफल भएको पार्टी केन्द्रीय सदस्य प्रकासशरण महतले जानकारी दिए । तर, केन्द्रीय समितिको बैठकबारे अन्तिम निर्णय गर्ने अधिकार सभापति कोइरालालाई दिएको उनले बताए ।

बैठकले संविधान निर्माण शान्ति प्रक्रियामा भइरहेको ढिलाईप्रति चिन्ता व्यक्त गरेको छ । माओवादी शान्ति प्रक्रिया र संविधान निर्माणप्रति जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै त्यसप्रति बैठकमा विस्तृत छलफल गरेको  उनले बताए । शान्तिप्रक्रिया, संविधान निर्माण र लडाकु समायोजनमा इमान्दार हुन बैठकले माओवादीसंग आग्रह गरेको छ ।

पार्टीको नयां कार्यसमिति हुने मनोनित केन्द्रीय सदस्यको बारेमा पनि छलफल भएको बताइएको छ । उपस्थित अधिकांस केन्द्रीय सदस्यहरुले पदाधिकारी र केन्द्रीय सदस्य मनोनित गर्दा पूरै पार्टीका नेताहरुको भावनालाई कदर हुने किसिमले गर्नु पर्ने धारणा सभापति कोइराला समक्ष राखेको नेता महतले बताए ।