राष्ट्रपति रामवरण यादवद्बारा नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता

पूर्ण बस्नेत,

 

सांघाई, कात्तिक १० – सांघाई एक्स्पोको समापन समारोहमा सहभागी हुने क्रममा मंगलबार दक्षिण चीनको ल्हासा आइपुगेका राष्ट्रपति रामवरण यादवले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएका छन्।

चीनको स्वशासित प्रदेश तिब्बतको राजधानी ल्हासामा आयोजित रात्रीभोज सहितको छलफलमा राष्ट्रपति यादवले यस्तो प्रतिवद्धता जनाएका हुन्।


चाइन एयरबाट दिउँसो ३२० बजे ल्हासाको गोङगर विमानस्थलमा राष्ट्रपति यादवलाई तिब्बत जनसरकारका कार्यकारी उपाध्यक्ष इङ चिअ, पार्टी उपसचिव झाङ योन मियन, नेपालका लागि चिनियाँ राजदूत क्यू गोहङ, चीनका लागि नेपाली राजदूत टंक कार्की, ल्हास्थित महावाणिज्यदूत ङइन्द्रप्रसाद उपाध्याय लगायतले स्वागत गरेका थिए। राष्ट्रपतिको १७ सदस्यीय भ्रमण दलमा राजदूत कार्की ल्हासाबाट संलग्न भएका हुन्।


साँझ चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव झाङ चिङलीले आफ्नै कार्यालयमा आयोजना गरेको रात्रीभोज सहितको छलफलमा राष्ट्रपति यादव भ्रमण दलका सदस्यहरू सहित सहभागी भए। छलफलमा राष्ट्रपति यादवले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धता जनाएका छन्। “चीनको राष्ट्रिय अखण्डता विरुद्ध नेपाली भूमिबाट कुनै गतिविधि हुन नदिने प्रतिवद्धता जनाउँछु”, राष्ट्रपतिलाई उद्धृत गर्दै भ्रमण दलका एक सदस्यले भने।


रात्रीभोजमा राष्ट्रपतिलाई स्वागत गर्दै सचिव चीङलीले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको सम्मान गरे। भ्रमण दलका सदस्य राजदूत कार्कीका अनुसार १४ मार्च २००८ मा बेइजिङविरुद्ध तिब्बतमा भएको प्रदर्शन नियन्त्रण गर्न र ओलम्पिकको समयमा नेपालको सहयोगप्रति चीङलीले आभार व्यक्त गरे। साथै उनले नेपाल जोड्ने तिब्बत रेलमार्ग ल्हासाबाट सिगात्सेतिर विस्तार गर्न थालिएको जानकारी पनि गराए।
राष्ट्रपति यादवले मंगलबार साँझ ल्हासास्थित नेपाली महावाणिज्य दूताबास अवलोकन गरी ल्हासामा बसोबास गर्ने नेपालीहरूलाई भेटेका थिए। तिब्बतको राजधानी ल्हासमा नेपालको मात्रै वाणिज्य दूताबास छ। चीनले त्यहाँ नेपाली दूताबासका लागि नयाँ भवन निर्माण गरिदिन लागेको छ।


ल्हासा होटलमा बसेका राष्ट्रिपतिले बुधबार विहान पोतला दरबार र ल्हासा विश्वविद्यालय तथा दिउँसो जोखान टेम्पल अवलोकन गर्ने कार्यक्रम छ। दिउँसो तिब्बत जनसरकारका प्रमुख पद्म छोलिङले राष्ट्रपतिको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ। राष्ट्रपति बुधबार दिउँसो ३४५ बजे हाइनान एयरबाट मध्य चीनको शान्सि प्रान्तको राजधानी सियान जाने कार्यक्रम छ। त्यहाँ उनी दुई दिन बस्नेछन्।


सांघाई एक्स्पोको १४ कात्तिकमा हुने समापन समारोहमा सहभागी हुन साताव्यापी चीन भ्रमणमा रहेका राष्ट्रपति पहिलो दिन सोमबार ल्हासा आइपुगेका हुन्। राष्ट्रपति यादवको यो पहिलो चीन भ्रमण हो। मैत्रीपूर्ण सद्भाव भ्रमणको क्रममा राष्ट्रपति यादवले एक्स्पो समापनकै दिन १४ कात्तिकमा चिनियाँ प्रधानमन्त्री वेन जियावाओसँग सांघाईमा भेट्ने कार्यक्रम छ। सोही दिन श्रीलंकाका राष्ट्रपति महेन्दा राजपाक्षे, संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन तथा सांघाई नगर सरकारका अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम छ।