केही सातामा हुने विस्तारित बैठकमा पेश गरिने प्रतिवेदनबारे अहिलेनै कार्यकर्तामाझ छलफल गर्न खोजेका उपाध्यक्ष बाबुराम भट्टराईमाथि लगाउन खोजिएको रोकलाई उनले चुनौती दिएका छन्।
कोचिला राज्य समितिले छुट्टाछुट्टै भेला गर्न नपाइने भनेर गरेको भनिएको निर्णयको बेवास्ता गर्दै उनले शनिबार विराटनगरमा कार्यकर्तासंगको भेटघाटमा विस्तारित बैठक र आफनो प्रतिवेदनमाथि छलफल गरेका छन्।
अरु दलहरुसंग विभिन्न विषयमा विवादमा अल्झिएको एकीकृत माओवादी अहिले आफ्नै दलभित्रको विवादले समाचारको शीर्षकमा छ।
विराटनगरमा भट्टराईले शनिबार दिएको खुल्ला चुनौतीले माओवादीको घरझगडा चर्केको छनक दिएको छ।
मंसिर ५ गतेदेखि बस्ने भनिएको विस्तारित बैठकमा पार्टि अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय बाबुराम भट्टराई र मोहन वैद्य किरणले प्रस्तुत गर्ने तीन फरक प्रतिवेदनमाथि छलफल हुनेछ।
ती प्रतिवेदन माथि विस्तारित बैठक अघि कार्यकर्ता माझ छुट्टाछुट्टै छलफल नगर्ने सहमति नेतृत्व तहमा भएको भनिएको थियो।
सोही आडमा कोचिला राज्य समितिले उपाध्यक्ष भट्टराईको कार्यकर्ता भेला रोक्न खोजेको बताइएको थियो।
त्यस्ता प्रयासहरुप्रति रुष्ट भट्टराईले विराटनगर पुगेलगत्तै सञ्चारकर्मीहरुसंग त्यसबारे आक्रोश पोखे।



