न्यायाधीशमाथि सुनुवाई हुँदै

 काठमाडौं । व्यवस्थापिका-संसद् संसदीय सुनुवाइ विशेष समितिले न्यायपरिषदबाट सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा प्रस्ताव गरिएका तीन न्यायाधीशको मंगलबार सुनुवाइ गर्दैछ । दिउँसो एक बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा सर्वोच्च अदालतका अस्थायी न्यायाधीशहरू अवदेशकुमार यादव, गिरिश चन्द्र लाल र सुशीला कार्कीको सुनवाइ हुन लागेको हो ।



समितिले स्थायी पदमा प्रस्तावित न्यायाधीशहरूको बारेमा सार्वजनिक रूपमा गुनासो आह्वान गरेअनुरूप न्यायाधीश गिरिशचन्द्रलाललाई स्वविवेकीय अधिकारको दुरूपयोग गरी चोरी सिकारी र गैँडा तस्करहरूलाई सजायबाट उन्मुक्ति दिने गरी फैसला गरेको भनी उजुरी परेको छ । न्यायाधीश लालविरुद्ध निवेदक स्वयम् उपस्थित भई उजुरी दर्ता गरेको र उजुरीमा प्रस्तावित न्यायाधीशले गरेको फैसलाको प्रतीलिपिसमेत संलग्न गरेको संसदीय सुनुवाइ समितिले जनाएको छ ।


व्यवस्थापिका-संसद् प्राकृतिक स्रोत साधन समितिलेसमेत गँैडा तस्करी सम्बन्धमा न्यायाधीश गिरिशचन्द्र लालले गरेको फैसलाको विपक्षमा निर्णय गरेर उहाँमाथि आगामी दिनमा कुनै जिम्मेवारी नदिन आशयको सिफारिससहित विशेष समितिमा उजुरी गरेको थियो ।


अर्का न्यायाधीश सुशीला कार्कीमाथि कार्यक्षमताको अभाव रहेको, राजनीतिक दलको कार्यकर्ता भएको र न्यायमा विचलित हुने गरेको उजुरी परेको छ । उहाँलाई यस्तो उजुरी इमेलमार्फत प्राप्त भएको संसदीय सुनुवाई समितिले जनाएको छ । अर्का न्यायाधीश अवदेशकुमार यादवमाथि भने कुनै उजुरी परेको छैन ।