काठमाडौ, मंसिर २ – राजनीतिक गतिरोध अन्त्य तथा नयाँ सरकार गठनका लागि छलफल गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । यसअघि रिसोर्टमा बस्दै आएको गोप्य बैठक बिहीबार सिंहदरवारस्थित शान्ति मन्त्रालयमा बसेको थियो ।
मसिंर ५ गतेबाट माओवादीको विस्तारित बैठक बस्ने भएकाले त्यस अगावै दलहरुबीच नयाँ सरकार र अन्य विषयमा सहमति जुट्ने आश गरिएको थियो । बिहीबारको बैठकबाट केही ठोस निष्कर्ष निस्किने आश गरिएपनि बैठक निष्कर्षविहीन टुङ्गिएको छ ।
बैठकमा सहभागी माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठक कुनै निर्णयमा पुग्न नसकेको बताए । उनका अनुसार यसअघिका बैठकहरुमा उठेका विषयहरुमा छलफल भएपनि निष्कर्ष निस्केन । दलहरुबीच माओवादीको विस्तारित बैठक पछाडि अर्को बैठक बस्ने सहमति भएको छ ।
माओवादीको विस्तारित बैठकमा लडाकुको सहभागिता विषयमा कांग्रेस र एमालेले आपत्ति जनाएपछि बैठक प्रभावित भएको बताइन्छ । स्रोतका अनुसार विस्तारित बैठकमा लडाकु सहाभागी हुने विषय उठेपछि अन्य विषयमा छलफल हुन नसकेको हो । माओवादीले विस्तारित बैठक पछाडि छलफल गर्ने गरी बैठक सार्न प्रस्ताव गरेको थियो ।
कांग्रेस नेता रामचन्द्र पौडेलले शान्ति सम्झौता सम्बन्धी सबै कुराहरु पालना गर्नुपर्नेमा माओवादीको ध्यानाकर्षण गराएको बैठकपछि बताए ।



