संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पछिल्लो समय संविधान निर्माणको आधार तय हुँदै गईरहेको बताउनु भएको छ । संविधानसभा महिला सभाषद समूह ककसले संविधानसभाका बिषयगत समितिका मस्यौदा प्रतिवेदनमा रहेका महिला मुद्दा समेटेर प्रकाशन गरेको पुस्तिकाको राजधानीमा विहीबार विमोचन गर्दै सभाध्यक्ष नेम्वाङले उच्चस्तरीय कार्यदलमा पछिल्ला दिनमा दलहरुवीच भएका सहमतिले यस्तो संकेत दिएको दावी गर्नुभयो ।
कार्यदलमा भएको प्रगतिले संविधान निर्माणकालागि सकारात्मक वाताबरण बनेको भन्दै उहाँले बजेट ल्याउनका लागि बनेको सकारात्मक वाताबरणलाई सुदुपयोग गर्दै सरकार गठनमा समेत सहमति गर्न दलहरुसँग आग्रह गर्नुभयो ।
नेपालको संविधानसभा विश्वकै समावेशी करणको नमुना भएको स्मरण गर्दै उहाँले यसलाई उपलव्धिमा रुपान्तरण गर्न महिला सभासदको सक्रियता जरुरी भएको बताउनुभयो ।
कार्यक्रममा संविधानसभाकी उपाध्यक्ष पूर्णकुमारी सुवेदी र संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले महिला सहभागिताका कारण विश्वकै उदाहरण बनेको संविधानसभाले गुणात्मक उपलव्धि हासिल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महिला सभासद समूहकी संयोजक उषाकला राईले उच्चस्तरीय कार्यदलले नागरिकतामा विभेद सिर्जना गरेको आरोप लगाउदै संविधानमा लैङ्गकि विभेद भए आफुहरु आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।



