संसदमा माओवादी सभासदहरुले हातपातसहित अवरोध खडा गरेर बजेट पेश गर्न रोकेपछि मध्यरातमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको सिफारिस बमोजिम राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य भएको घोषणा गरेका छन्। राष्ट्रपतिको घोषणापछि सिंहदरबारमा बसेको मन्त्रिपरिषदको अर्को आकस्मिक बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गर्यो।
अध्यादेशबाट बजेट ल्याउने निर्णय मन्त्रिपरिषद्को बिहान २ बजे सकिएको बैठकले गरेको हुनाले अध्यादेश प्रमाणित गर्न प्रधानमन्त्री माधवकुमार नेपाल शनिबार बिहान १० बजे राष्ट्रपति भवनमा जाने भएका छन्। राष्ट्रपतिले अध्यादेशमा स्वीकृति जनाएपछि राष्ट्रिय योजना आयोगको सभाकक्षमा अर्थमन्त्रीले अपराह्न ४ बजे बजेट भाषण वाचन गर्ने कार्यक्रम राखिएको छ।
यसअघि मध्यरातमा प्रधानमन्त्री र सभामुख राष्ट्रपति निवासमा गएपछि राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्यको घोषणा भएको थियो।
ब्रिफकेश नै थुतिदिए पछी हेरेको हेरै भयो सरकार/माओवादीको बिरोधका कारण बजेट आउन सकेन/अर्थमन्त्री र सभासदमाथि माओवादी दुर्व्यवहार भएको सरकार पक्षको आरोप
बजेट भाषण गर्न संसदको रोस्टममा जाँदै गरेका अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई माओवादी सभासदहरुले घेरेर ब्रिफकेसै खोसिदिएछन्। उनलाई बचाउने क्रममा ऊर्जामन्त्री प्रकाशशरण महतमाथिसमेत हातपात भएछ। तोडफोड, माइक भाँच्ने काम समेत भयो। राति साढे ११ बजे संसद भवनमा नै आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले फुटेको ब्रिफकेस देखाए। राति पौने १२ बजे सकिएको संसद भवनमा नै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले माओवादीविरुद्ध खेद प्रस्ताव पारित गर्यो।
यो घटनाले सहमति होला होला जस्तो भएको स्थितिलाई एक्कासी जटिलतातिर मोडिदिएको छ। सत्तारुढ दलका नेताहरुले माओवादीविरुद्ध कडा प्रतिक्रिया दिएका छन्।