जेठ सम्मका लागि संक्रमणकालिन संघर्षका कार्ययोजना लगायत १२ वटा राजनीतिक प्रस्ताव पारित गर्दै माओवादीको पालुङटार विस्तारित बैठक सकियो

पालुङटार, गोरखा  – जेठ सम्मका लागि संक्रमणकालिन संघर्षका कार्ययोजना पारित गर्दै माओवादीको पालुङटार विस्तारित बैठक शनिबार सकिएको छ ।

बैठकले विभिन्न समसामयीक राजनीतिक विषयमा १२ वटा प्रस्ताव पनि पारित गरेको छ । भारतलाई हेर्ने दृष्टिकोण लगायतका नमिलेका विषयमा केन्द्रीय कमिटीमा छलफल गर्दै जाने सहमति भएको छ ।

अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार प्रस्ताव गरेको २४ पृष्ठ लामो दस्तावेज माथि उपाध्यक्षद्वय बाबुराम भट्टराई र मोहन वैद्यले टिप्पणी गरेका थिए । त्यसपछि अध्यक्ष दाहालले समापन भाषण दिए ।

शुक्रबारको स्थायी समितिको बैठकपछि अध्यक्ष दाहालले उपाध्यक्षद्वय सहित प्रतिनिधिका सुझाव र आलोचनालाई विश्लेषण गर्दै आफ्नो दस्तावेजमा समेट्ने प्रयास गरेका थिए । आइतबारदेखि जारी विस्तारित बैठक पाँच दिनका लागि तोकिएपनि दुई दिन लम्बिएको थियो ।