काठमाडौ । प्रधानमन्त्री माधवकुमार नेपालले संसदमा भएको घटनाको छिनोफानो नभई अधिवेशन नबोलाउने बताउनु भएको छ ।
काठमाडौंको वसन्तपुरमा नेपाल सम्वतका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री नेपालले बजेट ल्याउने दिनमा अर्थमन्त्रीमाथि भएको आक्रमणको घटनाको टुङगो नलाग्दासम्म स्थगित संसदको अधिवेशन नबोलाउने बताउनुभयो ।
सभामुख सुवासचन्द्र नेम्वाङले अधिवेशन बोलाउन यसअघि नै सरकारलाई आग्रह गरिसक्नु भएको छ । प्रधानन्त्री नेपालले त्यस विषयमा दलहरुसँग छलफल भइरहेको पनि बताउनुभयो ।
बाध्यताबस सरकारले अध्यादेशबाट बजेट ल्याएको र त्यसपछिको परिस्थितिका विषयमा सरकार गम्भीर रहेको पनि प्रधानमन्त्रीले बताउउनुभयो ।
यसैबीच पशुपति क्षेत्रको उचित व्यवस्थापनका लागि प्रधानमन्त्री माधवकुमार नेपालले उच्चस्तरीय अधिकार सम्पन्न एक समिति गठन गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री नेपालले आज पशुपति नाथ मन्दिर क्षेत्रको अवलोकनपछि पत्रकारहरूसँग कुराकानी गर्दै पशुपतिनाथ सबै नेपालीको सम्पदा, संस्कृति र पहिचान भएकाले सबै मिलेर यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
पशुपति क्षेत्रको निर्माण तथा सम्भारका लागि सर्वोच्च अदालतले गत कात्तिक २१ गते अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन दिएको थियो ।