– कांग्रेस कन्द्रीय समितिले तत्काल संसदको बैठक बोलाई प्रधानमन्त्रीको निर्वाचन सुचारु गर्न माग गरेको छ । बिहीबार बसेको बैठकले मुलुकलाई प्रधानमन्त्री विहीन राख्न नहुने उल्लेख गर्दै उक्त माग गरेको हो ।
यसअघि १६ औं पटक सम्मको निर्वाचनमा पनि कांग्रेसका एक्ला उम्मेदवार रामचन्द्र पाडैलले आवश्यक बहुमत प्राप्त गर्न सकेका थिएनन् । प्रधानमन्त्रीको १७ औं निर्वाचन अघि संसदमा ल्याउन लागेको बजेट माओवादीले अवरोध गरेपछि सरकारले संसद अधिवेशनको अन्त्य गरेको थियो ।
त्यसैगरी कांग्रेस केन्द्रीय समितिले बजेट प्रस्तुत गर्न लाग्दा अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई हातपात गर्ने सभासदलाई कारवाही गर्नसमेत माग गरेको छ ।
महामन्त्री सिंह प्रबक्ता चयन
कांग्रेस केन्द्रीय समितिको बैठकले बिहीबार प्रवक्तामा महामन्त्री प्रकाशमान सिंहलाई चयन गरेको छ । १२ औ महाधिवेशनपछि गठन भएको नयाँ कार्यसमितिले नयाँ प्रवक्ता चयन गरेको हो । अघिल्लो कार्यसमितिमा नेता अर्जुननरसिंह केसी प्रवक्ता थिए ।
त्यसैगरी सभापति सुशील कोइरालाले पदाधिकारी चयनको लागि राखेको प्रस्ताव पारित हुन नसकेपछि व्यापक छलफल गरेर सहमतिको आधारमा चयन गर्ने भन्दै बैठक अनिश्चित कालका लागि स्थागित गरिएको छ ।
सभापति कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्ण सिटौलालाई प्रस्ताव गरेका थिए । त्यसको नेता शेरबहादुर देउवा पक्षका साथै सभापति कोइराला पक्षका पनि रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला र गगन थापाले विरोध गरेपछि अनुमोदन हुन नसकेको हो ।



