काठमाडौ – पूर्व-सभामुख तारानाथ रानाभाटले बजेट पेस गर्ने दिन मंसिर ३ गते व्यवस्थापिका संसदमा भएको घटनामा संलग्नलाई कार्वाही गर्ने संभावना गुज्रीसकेको बताउनु भएको छ ।
घटना भए लगत्तै कुनै कार्वाही भएको भए त्यसैमा टेकेर थप कार्वाही गर्न सकिने भएपनि अब संभव नहुने उहाँको भनाइ थियो ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा पत्रकारहरुसंग पूर्वसभामुख रानाभाटले सभामुखले चाहेको भए सम्मानपूर्ण दवाब र हस्तक्षेप गर्न सकिने बताउनु भएको हो ।
यद्यपी तत्कालै कार्वाही गर्दा थप घटना हुन सक्ने विषयमा सभामुखलाई शंकाको लाभ दिनुपर्ने उहाँको भनाइ छ ।
संसदमा भएको घटना सम्बन्धमा संसदभित्रकै छानविन समितिले प्रतिवेदन तयार गरेपनि सभासदमाथि कार्वाहीको संभावना अब टरेको रानाभाटको भनाइ थियो । उहाँले मंसिर ३ मा भएको घटना संसदीय गरिमा विपरित भएको बताउनुभयो ।
सभामुख सुवासचन्द्र नेम्वाङ्गलेपनि मंसिर तीनको घटनामा संलग्नलाइ कार्वाहीबारे नियमावली अस्पष्ट रहेको बताउदै आउनु भएको छ ।