सोमबार विहानैदेखि समावेदन परामर्शको बारेमा व्यस्त देखिएका प्रधानमन्त्री नेपालले अहिले १२ वजे सत्तासाझेदार दलको आकस्मिक बैठक आफ्नै कार्यकक्ष सिंहदरबार बोलाएका हुन् । समावेदनको विषयमा चांडो निकास दिन प्रधानमन्त्री नेपालले सत्ता साझेदार दलको आकस्मिक बैठक बोलाएको चुरेभावर पार्टीका अध्यक्ष केशव मैनालीले जानकारी दिए ।
विहान राष्ट्रपति यादवसंग समावेदनका विषयमा परामर्श गरे लगतै उनले आफनै निवास बालुटारमा कानुनी व्यवसायी, गृहमन्त्री भिम रावल, अर्थमन्त्री सुरेन्द्र पाण्डे, कानुनमन्त्री प्रेमबहादुर सिंह, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलसंग परामर्श गरेका थिए ।
सरकार गठन, संसदको नियमावली परिवर्तनसहितका विषयमा छलफल आवश्यक रहेको भन्दै माओवादीले अन्य पांच साना दलको समेत गरी १ सय ८७ सभासदको हस्ताक्षर आइतबार राष्ट्रपतिसमक्ष बुझाएको थियो । अन्तरिम संविधानको धारा ५१ को उपधारा ३ मा एक चौथाइ सभासदले समावेदन गरेमा १५ दिनभित्र राष्ट्रपतिले संसदको अधिवेशन बोलाउन पर्ने प्रावधान रहेको छ ।



