काठमाडौ – सर्वोच्च अदालतले साँसदहरुलाई प्रधानमन्त्री चुनावमा उपस्थित भएर तटस्थ बस्न वा मत दिन्न भन्न नपाउने फैसाल गरेको छ । प्रधानमन्त्रीको १६ औं पटकको चुनावले पनि प्रधानमन्त्री छान्न नसकेको बेला शुक्रबार एक रिटमा फैसला गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो ।
प्रधानमन्त्रीको पछिल्लो चुनावहरुमा संसदमा पक्ष र विपक्षमा भन्दा पनि मत दिन्न भन्ने साँसदसंख्या धेरै भएकाले उम्मेदवारी खारेज पनि नहुने र कसैले पनि नजित्ने अन्तहीन प्रकृयाको रुपमा स्थापित भएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशहरु बलराम केसी, सुशीला कार्की र भरतराज उप्रेतीको विशेष इजालसले शुक्रबार संसदमा उपस्थित भएर पनि तटस्थ बस्न वा मत दिन्न भन्न नपाउने फैसला सुनाएको हो ।
प्रधानमन्त्रीका एक्ला उम्मेदवार काँग्रेसका रामचन्द्र पौडेललाई निर्विरोध प्रधानमन्त्री घोषणा गर्न माग गर्दै परेको रिटमा न्यायधीसहरुले उक्त फैसला गरेका हुन् । साथै उक्त विषय व्यवस्थापिका संसदभित्रको क्षेत्राधिकारभित्रको विषय भएकोले त्यस बारे अदालतले निर्देशन दिन नमिल्ने फैसलामा उल्लेख छ ।



