व्यवस्थापिका संसद्को विशेष अधिवेशनमा माओवादीले ल्याएको प्रस्तावको विपक्षमा उभिने काँग्रेस र एमालेको सहमति

काठमाडौ – व्यवस्थापिका-संसद्को विशेष अधिवेशनमा एनेकपा (माओवादी)ले ल्याएको प्रस्तावको विपक्षमा उभिने सहमति नेपाली काँग्रेस र नेकपा एमालेको आज बसेको बैठकले गरेको छ ।


बैठकले संयुक्त राष्ट्रसङ्घीय आयोग अनमिनको बर्हिगमनपछि माओवादी लडाकू समायोजन, पुनःस्थापना र रेखदेखसम्बन्धी विशेष समितिको कार्ययोजना, जनशक्तिसहित यसलाई अझै सशक्त बनाउने बारेमा पनि दुवै दलले सहमति जनाएका छन् ।


नेकपा -एमाले) संसदीय दलको कार्यालय सिंहरदबारमा भएको दुई दलको सो बैठकमा नेकपा -एमाले)ले संसद्को विशेष अधिवेशनमा माओवादी प्रस्ताव र काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवारीको पनि विपक्षमा रहनेसहितको एमाले केन्द्रीय समितिको बैठकले गरेको निर्णयहरुबारे काँग्रेस नेताहरुलाई अवगत गराइएको थियो ।


काँग्रेसले भने एमालेले काँग्रेस उम्मेदवारीको विपक्षमा रहने भन्ने निर्णयको अर्थ प्रधानमन्त्रीको आफ्नो उम्मेदवारी कायमै रहेको हो स्पष्ट भएको भन्दै आफ्नो उम्मेदवारलाई प्रधानमन्त्रीमा निर्वाचित गर्न आग्रह गरेको थियो ।
यसबारेमा दुवै दल छलफल गर्न सहमत भएको नेकपा एमालेका नेता एवम् गृहमन्त्री भीम रावलले बताउनुभयो ।
बैठकपछि संवाददाताहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले विशेष अधिवेशनमा माओवादीले राखेको प्रस्तावको विपक्षमा रहन दुवै दल सहमत भएको जानकारी दिनुभयो ।