– नेपाली संचारमाध्यमहरुले जनाए अनुसार प्रमुख तीन दल विशेष अधिवेशनलाई अन्त्य गरेर नियमित अधिवेशन बलाउनका लागि सहमत भएका छन् । शान्ति मन्त्रालयमा बिहीबार तीन दलबीच बसेको बैठकमा उक्त सहमति भएको हो ।
यसैगरी एक साता भित्र नियमित अधिवेशन बोलाउने भएपछि माओवादी विशेष अधिवेशनका लागि संसदमा दर्ता गरेको दुई प्रस्ताव फिर्ता लिन सहमत भएको हो । उसले प्रधानमन्त्रीको निर्वाचन नयाँ प्रकृयाबाट हुनुपर्ने र संसदको नियमावली संशोधन गर्नु पर्ने दुई प्रस्ताव गरेको थियो ।
एमाले उपाध्यक्ष बामदेव गौतमले माओवादीको प्रस्ताव फिर्तापछि विशेष अधिवेशन अन्त्य हुने र एक साता भित्र नियमित अधिवेशन बोलाउने सहमति भएको संवाददाताहरुलाई बताए । दलहरुबीच नियमित अधिवेशनको पहिलो प्राथमिकतामा प्रधानमन्त्रीको निर्वाचनलाई राख्ने पनि सहमति भएको छ ।
माओवादी र अन्य पाँच साना दलको समावेदनमा राष्ट्रपतिले विशेष अधिवेशन आव्हान गरेका थिए । माओवादीले अघिल्लो अधिवेशनको अन्त्यसँगै प्रधानमन्त्रीका एक्ला उम्मेदवार काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको उम्मेदवारी स्वतःखारेज भएको दाबीसहित प्रधानमन्त्रीको निर्वाचनमा नयाँ प्रक्रिया र नियमावली संशोधनसहितको प्रस्ताव संसदमा दर्ता गरेको थियो । उक्त प्रस्तावमा बिहीबारको बैठकमा छलफल हुने कार्यसूची थियो । माओवादी प्रस्तावको विपक्षमा काँग्रेस,एमाले र मधेशवादी लगायतका दलहरु थिए ।
संयुक्त विज्ञप्ती
माओवादी लगायतका राजनीतिक दलहरुले व्यवस्थापिका संसदको अधिवेशनमा प्रस्तावबारे मन्तब्य दिएपश्चात सरकारको तर्फबाट मन्तब्य प्रकट भएपछि प्रस्ताव फिर्ता लिइ अधिवेशन अन्त्य गर्ने, नेपाल सरकारले व्यवस्थापिका संसदको अधिवेशन अविलम्ब बोलाउने सिफारिस गर्ने र सो अवधीमा सरकार गठनको जारी प्रक्रिया प्राथमिकतामा रहने छ ।
व्यवस्थापिका संसदको आगामी नियमित अधिवेशनभन्दा अगावै राजनीतिक दलहरुकाबीच गम्भीर वार्ता गरी राष्ट्रिय सहमतिको प्रयास गर्ने ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुशील कोइराला झलनाथ खनाल
माओवादी अध्यक्ष कांग्रेस सभापति एमाले अध्यक्ष