माओवादीद्वारा शान्ति प्रक्रिया, संविधान निर्माण टुंगोमा नपुगेको निश्कर्ष निकाल्दै राष्ट्रसंघीय मिसन अनमिनको म्याद थप्नका लागि सुरक्षा परिषद्सँग पत्रचार गर्ने

काठमाडौं – शान्ति प्रक्रिया, संविधान निर्माण टुंगोमा नपुगेको निश्कर्ष निकाल्दै राष्ट्रसंघीय मिसन (अनमिन)को म्याद थपका लागि एकीकृत माओवादीले पत्रचार गर्ने भएको छ। बिहीबार बसेको पदाधिकारी बैठकले अनमिन म्याद थपका लागि राष्ट्रसंघीय सुरक्षा परिषद्सँग पत्राचार गर्ने निर्णय गरेको हो।

 

पुस मसान्तसम्म अनमिनको अन्तिम म्याद यसअघि थप गरिएको थियो। नेपाल सेनालाई अनुगमनबाट झिक्नु पर्ने सर्त सहित अनमिनको म्याद थप गर्न कांग्रेस सहमत भइसकेको छ। माओवादी अनमिन गएपछि शान्ति प्रक्रिया निश्कर्षमा नपुग्ने जिकिर गर्दै आएको छ।

सरकारले गत भदौमा अनमिनको म्याद अन्तिम पटक भनि पुस मसान्तसम्म थप गरेको थियो। अनमिनको म्याद सकिन दुई साताअघि माओवादीले एकाएक म्याद थप गर्नुपर्ने माग राखेको छ। प्रधानमन्त्री माधव कुमार नेपालले भने अनमिनको म्याद थप गर्न नसकिने जिकिर गर्दै आएका छन्।

‘अनमनिको म्याद थप गर्नका लागि राष्ट्रसंघीय सुरक्षा परिषद्मा पत्राचार गर्ने निर्णय गरेका छौं’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने- ‘दलहरुसँग सहमतिको प्रयास भइरहेकाले कहिले पठाउने मिति भने तय गरेका छैनौं।’