‘बाहिर भन्नु उहाँको गल्ती हो, त्यो एउटा पाटो हुन सक्छ। तर उहाँले मात्र संचारमाध्यममा बोल्नुभएको छ र? अरूले पनि बोलेका छन्,’ स्थायी समिति सदस्य नेत्रविक्रम चन्दलाई उद्धृत गर्दै अर्का सदस्यले भने, ‘फरक यत्ति हो, भट्टराईले आफैं बोल्नुभयो, अरूले स्रोत भनेर सूचना दिइरहेका छन्।’
अघिल्लो साता एक दैनिकमा प्रकाशित भट्टराईको अन्तर्वार्ता र त्यसअघिपछि विभिन्न सञ्चारमाध्यममा उनको अभिव्यक्तिको फेहरिस्त तयार गरी दाहालले कारबाही प्रस्ताव गरेका हुन्। भट्टराईले जनविद्रोह गर्ने पार्टी निर्णयमा सैद्धान्तिक रूपमा सहमत भए पनि अहिले शान्ति र संविधानलाई जोड दिनुपर्ने धारणा व्यक्त गर्दै आएको प्रति दाहालले असन्तोष व्यक्त गरेका छन्।
पुस २ गते सम्पन्न केन्द्रीय समिति बैठकमा भट्टराईले संविधान बन्ने सम्भावना न्यून रहेको भन्दै जनविद्रोहमा जाने पार्टी निर्णयविपरीत ‘नोट अफ डिसेन्ट’ लेखेका थिए। फरक मत लेख्ने आफ्नो निर्णय सञ्चारमाध्यममार्फत सार्वजनिक गरेको बारे दाहाल उनीसँग स्पष्टीकरण सोध्ने निचोडमा पुगेका हुन्।



