राष्ट्रिय जनमोर्चाको संघीयता विरोधी अभियानमा संघीय लिम्वुवान राज्य परिषद्का कार्यकर्ताले हस्तक्षेप गरे

काँकडभिट्टा, – राष्ट्रिय जनमोर्चा नेपालको संघीयता विरोधी अभियानमा वुधवार संघीय लिम्वुवान राज्य परिषद् (पालुंवा समुह) का कार्यकर्ताले हस्तक्षेप गरेका छन् ।  

झापाको विर्तामोडस्थित मुक्ति चोकमा आयोजित जनमोर्चाको कोण सभालाई लिम्वुवानले विथोल्दै मोर्चाका केन्द्रीय उपाध्यक्ष वीरवहादुर गोलेमाथि कुटपिट गरेको मोर्चाको भ्रातृ संगठन अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामवहादुर वुढाले जानकारी दिए ।

उनका अनुसार लिम्वुवानका कार्यकर्ताले केन्द्रीय उपाध्यक्ष गोलेलाई करिव २ घण्टा अपहरण गरी छाडेका थिए । लिम्वुवान कार्यकर्ताको आक्रमणबाट गोलेको आँखा र हातमा चोट लागेको छ । लिम्वुवान कार्यकर्ताले मोर्चाको पर्चा पम्प्लेट र झण्डा खोसेर च्याति दिएको बताइएको छ ।

मोर्चाको टोली गत पुस १० गतेदेखि संघीयताको विरोधमा देश दौडाहामा छ । उसले झापाको धुलावारी, चन्द्रगढी र विराटनगरमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।