आफ्नै पार्टीका झलनाथको प्रधानमन्त्री बन्ने मोहले मुलुकले सरकार नपाएको एमाले केपी ओलीको आरोप


– रोशन शिल्पकार

 

भक्तपुर – प्राप्त समाचार अनुसार एमाले नेता केपी ओलीले कसैलाई प्रधानमन्त्री मोहकै कारण मुलुकले सरकार पाउन नसकेको बताएका छन्।

 

आफ्नै पार्टीका अध्यक्ष झलनाथ खनालको नाम नलिई उनले भने- कसैलाई प्रधान मन्त्री बन्न रहर लाग्यो भन्दैमा देशलाई अन्योलमा पार्न पाइँदैन। एक दुई जनालाई प्रधान मन्त्री बन्न रहर भयो भन्दैमा देशलाई अन्योलमा पार्नु कत्तिको ठीक हो ? भन्दै उनले प्रधान मन्त्री बन्ने मोहमा लाग्नुभन्दा पार्टीमा सबैलाई मिलाएर लान अध्यक्षलाई सुझाव दिए। कसले के भन्यो भनेर दौडनुभन्दा पार्टी हितका लागि लाग्नुपर्छ, उनले भने- यसका लागि कार्यकर्ताले पनि खबरदारी गर्नुपर्छ कतै प्रधान मन्त्री हुन पाइन्छ कि भन्ने आशले पार्टी अध्यक्षले मुलुकलाई सरकारबिहीनताको स्थितिमा राखेर देशलाई अनिर्णयको बन्दी बनाइराखेकोप्रति उनले आपत्ति जनाए। 

 

एमाले गोठाटार गाउँ कमिटीको ५ औं अधिवेशनमा बोल्दै नेता ओलीले माओवादीले क्रान्तिको नाममा उत्ताउलो काम गरी जनतालाई आतङ्कित पार्ने काममात्र गरिरहेको आरोप पनि लगाए। उनले हतियार चलाउँदैमा क्रान्तिकारी होइने हो भने नेपालका राँगा काट्ने, खसी मार्ने, सुङ्गुर मार्ने सबै क्रान्तिकारी हुनुपर्ने तर्क पनि राखे। नेता ओलीले माओवादीको षड्यन्त्रमा नपर्नसमेत सबैलाई आग्रह गरेका थिए।