काठमाडौ – प्राप्त समाचार अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रकृया पुरा नहुँदै राष्ट्रसंघीय मिसनलाई धपाउन खोजेको आरोप लगाएका छन् । नयाँ संविधान निर्माणमा मुस्लिम समुदायको भूमिका विषयक गोष्ठीमा शनिबार भने, ‘अनमिनलाई बीच बाटोबाटै धपाउने काम भएको छ ।’
माओवादीले बिहीबार राष्ट्रसंघलाई अनमिनको म्याद थप्न अनुरोध गर्दै एकतर्फी रुपमा पत्र पठाएको छ । माओवादीले कम्तिमा संविधानसभाको म्याद नसकिएसम्मको लागि अनमिनलाई राख्नु पर्ने बताउँदै आएको छ ।
यसैगरी उनले संविधानसभाबाट नयाँ संविधान बन्ने नबन्नेमा अझै निश्चित नभएको बताए । ‘अरु दलहरुले यो प्रकृयालाई मन पराएका छैनन’ उनले भने, ‘त्यसैले चनाखो हुनुपर्ने बेला भएको छ ।’ उनले नयाँ संविधानमा आफ्ना अधिकारहरु सुनिश्चितताका लागि मुस्लिम समुदायसंग संघर्षको बिकल्प नभएको बताए ।



