काठमाडौं – मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)ले सो पार्टीका केन्द्रीय सदस्य सञ्जयकुमार साहलाई सम्पूर्ण जिम्मेबारीबाट हटाएको छ ।
पार्टीको राजनीतिक समितिको बैठकले साहलाई केन्द्रीय सदस्यसँगै पार्टी सङ्गठन विभागको सदस्य, मधेसी युवा फोरम (लोकतान्त्रिक) को इन्चार्ज पदसमेतबाट हटाउने सर्वसम्मत निर्णय गरेको कुरा पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठक पार्टी अध्यक्ष विजयकुमार गच्छदारको अध्यक्षतामा बसेको थियो ।
अनुशासन समितिको प्रतिवेदनअनुसार साहमाथि थप कारबाहीका सम्बन्धमा राजनीतिक समितिको अर्को बैठकले निर्णय गर्ने बताइएको छ । केही दिनअघि सञ्जयकुमार साहले मधेश क्रान्ति फोरम नामको अलग्गै पार्टी खोलेको घोषणा गर्नुभएको थियो । रासस



