काठमाडौ – माल्दिभ्सले १७ औं सार्क सम्मेलन आगामी २०११ को नोभेम्वर १०-११ मा आयोजना गर्ने भएको छ ।यसअघि माल्दिभ्सले आर्थिक मन्दीका कारण १६ औं सार्क आयोजना गर्न नसक्ने जनाएकाले भुटानले सो सम्मेलनको आयोजना गरेको थियो ।
हालैको एक रेडियो सम्बोधनमा माल्दिभ्सका राष्ट्रपति मोहमद नासिदले सरकारले दक्षिणी प्रान्तमा सम्मेलन आयोजना गर्ने बताउनुभएको थियो ।
यस पटक हुने सार्क सम्मेलन प्रथम पटक दक्षिणी गोलार्धमा हुने भएको छ, जबकि सार्कका एक बाहेक सबै राष्ट्र उत्तरी गोलार्धमा पर्दछन् ।सार्कले आफ्नो २५ वर्षे इतिहासमा पहिलो महिला महासचिव माल्दिभ्सबाट पाउने भएको छ ।
माल्दिभ्सकी पूर्व महान्यायाधिवक्ता ३६ वर्षीया फथिमाथ धियाना सइदलाई महासचिवको रूपमा मनोनयन गरी स्वीकृतिका लागि माल्दिभ्सले सदस्य राष्ट्रमा पठाएको छ ।
उनलाई भुटानमा जनवरी २५ मा हुने मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि मार्च १ देखि कार्यभार सम्हाल्ने सार्कका निर्देशकले बताएका छन् । सिन्ह्वा