चाँदनी हमाल,
चितवन – प्राप्त समाचार अनुसार माओवादी लडाकुहरुको शिविरमा हतियार रेखदेख गर्न बसेको अनमिन टोली धमाधम काठमाडौं फर्किएका छन्। नेपाल बस्ने कार्यकाल सकिएकाले उनीहरु फर्किएका हुन्। हतियारको कन्टेनर र सरसमानको समेत जिम्मा कसलाई लगाउने भन्ने टुङ्गो नहुँदा भने अन्योल छाएको छ।
केही कर्मचारी भने कार्यकालको अन्तिम दिन शिविरलाई नै सरसामान जिम्मा लगाएर फर्कने तयारीमा रहेका छन्।
‘कसले जिम्मा लिने भन्ने कुरा नेपाल सरकारले भन्नुपर्ने हो,’ शक्तिखोरस्थित तेस्रो डिभिजनका प्रवक्ता जनक बिष्ट कुवेरले भने- तर अझैसम्म जिम्मा लिन शिविरमा कोही आएका छैनन्।’ उनका अनुसार अहिले शिविरमा अनमिनका एकजना प्रतिनिधिमात्र छन्। उनीसँग एक जना चालक र एक जना सशस्त्र सुरक्षाकर्मी भने तैनाथ छन्। तीनै जना १५ तारिखभित्र काठमाडौं हिँड्ने तयारीमा छन्।
लडाकुहरु अनमिनका विषयमा अन्यौल व्यक्त गर्छन्। ‘हामी सबै अन्योलमै छौं, भएका एक जना पनि गएपछि के गर्ने ?’ प्रवक्ता बिष्टले थपे। अनमिनका बाँकी कर्मचारी पनि हस्तान्तरण कसलाई गरेर जाने भन्ने अन्योलमै छन्। सेना समायोजन भएर ढुक्कसँग शिविरबाट जाने सपना पनि अन्योलमै हुने हो कि भन्ने शङ्का लडाकु गर्न थालेका छन्।
कार्यावधि सकिएपछि जिम्मा लिने भनिएको सचिवालयले समेत मान्यता नपाएपछि लडाकु शिविरमा थप तनाव उत्पन्न भएको शिविरको भरणपोषण हेर्ने रेखदेख समितिका संयोजक शरदचन्द्र शर्माले बताए। ‘समयमा जानकारी कसैले दिँदैनन्, भोलl हतारमा निर्णय गर्दा समस्या आउँछ’- उनले भने।