संखुवासभा-२ बाट एमाले उम्मेदवार भई सभासद भएका खड्काको १० पुसमा भक्तपुरको कौशलटारमा मोटरसाईकल दुर्घटनामा परी निधन भएको थियो । सचिवालय स्रोतका अनुसार सभामुख नेम्वाङले २८ पुसका लागि संसद्को अर्को बैठक डाक्नेछन् । उक्त बैठकको समय भने आइतबार ३ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्धारण गर्नेछ ।
तीन दलबीच नियमित अधिवेशन बोलाउने सहमतिपछि माओवादीले गत पुस ८ मा विशेष अधिवेशन फिर्ता लिएको थियो । संसद् सचिवालय स्रोतका अनुसार नियमित अधिवेशनबाट नै सरकारले मंसिर ३ मा जारी गरेको बजेट अध्यादेश अनुमोदन गराउनु पर्ने हुन्छ । अधिवेशन सुरु भएको ६० दिनभित्र अध्यादेश अनुमोदन नगरे स्वतः निष्क्रिय हुनेछ । संसद्का कानुनी सल्लाहकार टेकप्रसाद ढुंगानाका अनुसार, त्यसको गणना माओवादीसहितका दलको अगुवाइमा गत पुस ४ को विशेष अधिवेशन बैठकबाट नै हुन्छ ।
दलहरूले नियमित अधिवेशनबाट सरकार निर्माण प्रक्रियाअघि बढाउने सहमति गरेकाले प्रधानमन्त्री चयन प्रक्रियाले समेत अधिवेशनमा प्रवेश पाउनेछ । गत अधिवेशनमा प्रधानमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल मात्रै उम्मेदवार थिए ।
सचिवालयका अनुसार, नियमित अधिवेशनमा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको महाअभियोग विषयले समेत प्रवेश पाउनेछ । न्यायपरिषद्ले उनलाई महाअभियोगका लागि संसद्समक्ष सिफारिस गरेपछि त्यसबारे २७ दलमा समेत छलफल भएको छ । सभामुख नेम्वाङले त्यसबारे २७ दलका प्रमुख सचेतकसँग छलफल गरिसकेका छन् । हिउँदे अधिवेशनबाट नयाँ सरकार चयन भए सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ ।



