एक्ला उम्मेदवार रामचन्द्र पौडेलमात्र मैदानमा रहेको १७ औं चरणको प्रधानमन्त्री निर्वाचन आगामी २८ गते हुने

काठमाडौं – एक्ला उम्मेदवार रामचन्द्र पौडेलमात्र मैदानमा रहेको १७ औं चरणको प्रधानमन्त्री निर्वाचन बुधबार हुने भएको छ । कार्य व्यवस्था परामर्स समितिको बैठकले २८ गते दिउँसो २ बजे १७ औं चरणको प्रधानमन्त्री निर्वाचन गर्ने निर्णय गरेको हो ।

 

१६ पटकसम्म पराजित कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा प्रधानमन्त्री चुनिनसक्ने आशा व्यक्त गरेका छन् ।


पुस २८ गते बुधबार अपराहृन २ बजे प्रधानमन्त्रीको १७ औं चरणको निर्वाचन हुँदैछ । शान्ति र लोकतान्त्रिक संविधान निर्माणका लागि आफ्नो उम्मेदवारी नै सर्वोत्तम रहेको तर्क गर्दै उनले आगामी निर्वाचनमा चुनिनसक्ने आशा व्यक्त गरेका छन् ।

‘मेरो उम्मेदवारी दिगो शान्ति र लोकतान्त्रिक संविधान निर्माणमा आधारित छ,’ आइतबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनपछि सञ्चारकर्मीसित पौडेलले भने, ‘म पुस २८ गते हुने निर्वाचनमा प्रधानमन्त्री चुनिन पनि सक्छु ।’ शान्ति र लोकतन्त्रविरुद्ध कसैसँग पनि सम्झौता नगर्ने उनले बताए ।

उम्मेदवारी फिर्ता नलिए विपक्षमा मतदानः खनाल
पौडेलले प्रधानमन्त्री चुनिने आशा व्यक्त गरिरहँदा वर्तमान गठबन्धनको अर्को दल एमालेले भने उम्मेदवारी फिर्ता नलिए विपक्षमा मतदान गर्ने स्पष्ट पारिसकेको छ ।

‘हामीलाई विश्वास छ, २८ गतेको चुनाव गर्ने अवस्था नबनाइकन रामचन्द्रजीले उम्मेदवारी फिर्ता लिनुहुनेछ,’ खनालले भने, ‘यदि फिर्ता लिनुहुन्न भने हाम्रो पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।’   

माओवादी अनिर्णित

बुधबार हुने प्रधानमन्त्री निर्वाचनमा एक्ला उम्मेदवार पौडेलको विपक्षमा मतदान गर्ने विषयमा माओवादीले निर्णय गर्न सकेको छैन । यसबारे एक दुई दिनभित्रै निर्णय लिइने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘हामी त प्रधानमन्त्रीको उम्मेदवारी खारेज भइसकेको मान्यतामा थियौं,’ श्रेष्ठले भने, ‘सभामुखले नयाा शिराबाट पुस २८ गते निर्वाचन तोक्नुभएकाले त्यसलाई पार्टीले मान्नैपर्छ, हामी रामचन्द्रजीको पक्षमा त छैनौं, तर प्रस्तावको विपक्षमा मतदान गर्ने विषयमा भने छिटै निर्णय गर्छौं ।’