तीन राजनीतिक दलका शीर्ष नेताहरुद्वारा प्रधानमन्त्री चयन नयाँ प्रक्रियाबाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त

काठमाडौँ – शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउँदै लोकतान्त्रिक संविधान निर्माणका लागि नयाँ प्रक्रियाबाट अगाडि बढ्न तीन राजनीतिक दलका शीर्ष नेताहरुले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


व्यवस्थापिका-संसदको आजको बैठकमा प्रधानमन्त्री पदका एकमात्र प्रत्यासी नेकां संसदीय दलका नेता रामचन्द्र पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएपश्चात् एकीकृत नेकपा -माओवादी), नेपाली कांग्रेस र नेकपा -एमाले)का शीर्ष नेताहरुले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।


व्यवस्थापिका-संसदको बैठकमा गत साउन ५ गतेदेखि प्रधानमन्त्री चयनको प्रक्रिया शुरु भएको थियो । पाँच महिना २३ दिनसम्म सो प्रक्रिया चलिरहृयो र पनि प्रधानमन्त्री चयन हुन सकेन ।


बैठकबाट बाहिर निस्किएपश्चात तीन दलका शीर्ष नेताहरुले एकै स्वरमा सञ्चारकर्मीलाई भन्नुभयो- शान्तिप्रक्रियालाई टुङ्ग्याउन र लोकतान्त्रिक संविधान निर्माणका लागि दलहरुबीच सहमति, सहकार्य र एकताको विकल्प छैन ।


यसअघि प्रधानमन्त्री चयन प्रक्रियाबाट माओवादी र एमालेले सहमतिबाट प्रधानमन्त्री चयन गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो ।


माओवादीका अध्यक्ष एवम् संसदीय दलका नेता पुष्प कमल दाहालले व्यवस्थापिका-संसदमा ठूलो पार्टीका नाताले अब राष्ट्रिय सरकार बनाउन आफ्नो पार्टीले पहल गर्ने बताउनुभयो ।


नेकांले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएर सहमतिको बाटो खुलाएको भन्दै नेता दाहालले भन्नुभयो- अब नयाँशिराबाट सहमति हुन्छ ।


सत्ता साझेदार, शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रिया अगाडि बढाउन नयाँ सहमति आवश्यक भएको र यस्तो सहमति कायम गर्न भोलिबाट वार्ता र संवाद थालिने उहाँले उल्लेख गर्नुभयो  ।


नेकपा -एमाले)का अध्यक्ष एवम् संसदीय दलका नेता झलनाथ खनालले सत्ता साझेदारी, शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउने र लोकतान्त्रिक संविधान निर्माणका लागि सहमतिको बाटो खुल्ला भएको बताउनुभयो ।


उहाँले भन्नुभयो- हिजोका दिनमा जे भए त्यसलाई बिर्सिएर हामीहरूले शान्तिप्रक्रियालाई टुङ्ग्याउन र संविधान निर्माण तर्फ लाग्नुपर्छ ।


राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि नेकपा -एमाले)ले मेरो गोरुको बाह्रैटक्का भन्दैन नेता खनालले स्पष्ट पार्नुभयो ।


नेपाली कांग्रेसका नेता संसदीय दलका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको बाटो खुलाउन र एमाले, माओवादी, मधेसवादी दलका नेताको आग्रहअनुरुप आफूले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो ।


उहाँले भन्नुभयो- अब शान्तिप्रक्रिया र लोकतान्त्रिक संविधान निर्माण गर्न सुनिश्चित गर्नुपर्छ ।


दोस्रो ठूलो दलको नाताले फेरीपनि प्रधानमन्त्री पदका लागि नेकांले दाबी गर्ने र सहमतिबाटै प्रधानमन्त्री चयन हुनु आवश्यक छ, नेता पौडेलले भन्नुभयो ।