अनमिन फर्के लगतै नेपाली सेनाको अनुमगन हुने वा नहुने भन्ने बिषयमा विवाद सुरु, माओवादीद्बारा आपत्ति

काठमाडौ – प्राप्त समाचार अनुसार  राष्ट्र संघीय मिसन (अनमिन) फर्के लगतै नेपाली सेनाको अनुमगन हुने वा नहुने भन्ने बिषयमा विवाद सुरु भएको छ । बिशेष समितिका केही सदस्यले नेपाली सेना अनुमगनमा नरहेको बताएको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन् ।

अनमिनले गर्दै आएको सबै काम विशेष समितिले गर्ने भनेकाले नेपाली सेना पनि स्वतह समितिको अनुगमनमा आएको भन्दै माओवादी अध्यक्षले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी समितिका सदस्यको भनाईप्रति आपत्ति जनाएका हुन् । उनले बिहीबार सरकार-माओवादीबीच भएको सहमतिमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताइएको छ ।

भेटपछि अध्यक्ष दाहालले सहमति विपरित अभिव्यक्ति आएकाले यस सम्बन्धमा प्रधानमनत्रीसंग कुरा गरेको संवाददाताहरुलाई बताए । उनले भने, ‘शान्ति प्रक्रियासँग सम्बन्धित अस्ति भएको सहमतिको विषयमा नै समीक्षात्मक छलफल भएको हो ।’

बिहीबार भएको सहमतिमा माओवादीको सात वटा शिविरमा रहेको हतियार र नेपाली सेनाको छाउनीस्थित कन्टेनरमा राखेको हतियारको व्यवस्थापन तथा अनमिनले गर्दै आएको अन्य व्यवस्थापकीय काम बिशेष समितिले गर्ने उल्लेख छ ।   

दाहालले लडाकु शिविरलाई विशेष समिति मातहत ल्याउने विषय मंगलबारसम्म टुंग्याउने पनि बताए ।