दलहरूबीचका सबै विवाद तत्कालै समाधान नभए पनि नयाँ संविधानको पहिलो मस्यौदाको काम सुरु हुने

काठमाडौं  – संचारमाध्यमहरुले जनाए अनुसार विषयवस्तुबारे दलहरूबीचका सबै विवाद तत्कालै समाधान नभए पनि नयाँ संविधानको पहिलो मस्यौदाको काम सुरु हुने भएको छ ।

संविधानसभाले आफ्नो नियमावली संशोधन गरी संवैधानिक समितिलाई थप अधिकार दिएर पहिलो मस्यौदाको काम सुरु गर्न लागेको हो । कार्यतालिकाअनुसार कात्तिक मसान्तमा हुनुपर्ने संविधान मस्यौदाको काम अझै सुरु भएको छैन ।

संविधानसभाद्वारा गठित नियमावली मस्यौदा समितिले सोमबार आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ । संविधानसभाले संशोधन पारित गरेपछि संविधानसभामा अल्भिmएका विषयगत समितिका प्रतिवेदन संवैधानिक समितिमा पठाउन बाटो खुल्ने छ ।

संविधानसभाका विषयगत समितिका प्रतिवेदनहरूमा शासकीय स्वरूप, निर्वाचन प्रणाली, राज्यको पुनर्संरचना लगायतका महत्त्वपूर्ण ८३ प्रश्नमा प्रमुख दलहरूबीच विवाद छ । विषयगत समितिका प्रतिवेदनमाथि संविधानसभाले सुझाव र निर्देशन पारित गरेपछि मात्र संवैधानिक समितिमा ती प्रतिवेदन जाने नियमावलीको व्यवस्थाका कारण नयाँ संविधानको पहिलो मस्यौदा तयारीको काम सुरु हुन पाएको थिएन ।

नियमावली संशोधनले प्रमुख दलका शीर्ष नेताहरू सदस्य रहेको संवैधानिक समितिलाई थप अधिकार प्रदान गर्नेछ ।