काठमाडौं – हामीलाई काठमाडौंबाट प्राप्त पछिल्लो समाचार अनुसार प्रधानमन्त्री निर्वाचनबारे संसद नियमावली संशोधनका विषयमा माओवादी, कङ्ग्रेस र एमालेबीच राय बाझिएपछि बुधबार तेस्रो पटक व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ। संसद नियमावली संशोधनका अन्तर्वस्तुमा दलहरुबीच सहमती जुट्न नसक्दा त्यसको प्रत्यक्ष असर सरकार गठन प्रक्रियामा पर्ने देखिएको छ।
राष्ट्रपतिले सहमतीय सरकारका लागि दिएको समयसीमा सकिन लाग्दा समेत बहुमतीय सरकार गठन प्रक्रियाका लागि आवश्यक संसद नियमावली संशोधन हुन नसक्दा सरकार गठनमा ढिलाइ हुनसक्ने संभावना बढेको छ। राष्ट्रपतिले सहमतिय सरकारका लागि माघ ९ गते शुक्रबारसम्मको समय सीमा दिएका छन्। त्यतिन्जेलसम्म सहमतीय सरकार नबने बहुमतीय प्रणालीबाट सरकार गठन प्रक्रिया थाल्नुपर्नेछ।
छोटो समयका बाबजुद सहमति जुटाउने प्रयासका लागि बुधबार सभामुख सुभाषचन्द्र नेम्वाङले लागि कांग्रेस र माओवादीका मुख्य सचेतकसँग छलफल गरेका छन्। सभामुखसँगको बैठक सहमतिमा पुग्न नसकेपछि नियमावली संशोधन कार्यका लागि बस्ने भनिएको संसद बैठक स्थगित गरिएको हो।
संसद सचिवालयले भोलि शुक्रबार दिउसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको छ।
प्रधान मन्त्री चयन प्रक्रिया परिणाममुखी बनाउने उद्देश्यले हुन लागेको नियमावली संशोधनको विषयवस्तुलाई दलहरुले आ-आफ्नो स्वार्थअनुकूल गठबन्धन बनाउन मद्दत पुग्ने किसिमले संशोधन गर्न खोज्दा सहमति जुट्न नसकेको हो।