
तर सेना तथा हतियार अनुगमन गर्न भनि बनाइएको संयन्त्रबारेको विवाद भने चर्किएको छ।
अनुगमन संयन्त्रमा आफ्नो प्रतिनिधित्व नभएको भन्दै तराईका दलहरुले आपत्ती जनाएका छन्।
बुधबार बसेको सेना समायोजन विशेष समितिको वैठकले आगामी शनिबार चितवनको शक्तिखोरस्थित माओवादी सेनाको शिविरमा एउटा कार्यक्रम गर्दै माओवादी सेना तथा हतियार विशेष समितिको अधीनमा आएको घोषणा गर्ने निर्णय गरेको हो।
राष्ट्रिय झण्डा
शनिबार नै शक्तिखोर शिविरमा फहराइरहेको माओवादी दलको झण्डालाई नेपालको राष्ट्रिय झण्डाले प्रतिस्थापन गर्ने बताइएको छ।
सम्पूर्ण तयारीको निम्ति एउटा तीन सदस्यीय समिति बनाइएको छ।
गत शनिबार कार्यावधि सकिएको राष्ट्रसंघीय नियोग अन्मिनको बिदाइ अघि प्रधानमन्त्री र माओवादी अध्यक्षबीच भएको सहमति अनुसार माओवादी सेना र हतियार अनुगमनको जिम्मेवारी विशेष समितिले आफ्नो काँधमा लिएको हो।



