काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार एमाले अध्यक्ष झलनाथ खनाललाई एमालेकै पूर्वकार्यकर्ताले झापड हानेका छन्।
३ महिने संगठन सुदृढीकरण, व्यवस्थापन र सञ्चालन कार्यक्रम उद्घाटन गर्न इटहरी आइपुगेका खनाललाई सयौं कार्यकर्ता माझ सुनसरी भरौलका देवीप्रसाद रेग्मीले झापड हानेको जनाइएको छ।
एक्कासी भीडबाट थप्पड खाएपछि खनाल रातोपिरो भएका थिए ।
नेताहरुले देश बिगारेकाले खनाललाई मौका पारेर थप्पड हानेको रेग्मीले प्रतिक्रिया दिए । ‘नेताहरुले देश बर्बाद पारे, मर्नुभन्दा बहुलाउनु निको ठानेर झापड हानेको हुँ,’ प्रहरी नियन्त्रणमा रहेका रेग्मीले सञ्चारकर्मीसित भने ।
समाचार अनुसार अचानक झापड प्रहर भएपछि सयौं कार्यकर्ताबीच रहेका खनाल तिल्मिलाएका थिए। झापड हान्ने रेग्मी संविधानसभा चुनाव अघिसम्म एमालेकै कार्यकर्ता रहेको र त्यसपछि पार्टीगत रुपमा स्वतन्त्र जीवन बिताइरहेका व्यक्ति हुन्।
मुलुकको तेस्रो ठूलो दलको अध्यक्षका गाला चड्काइ दिएपछि ५२ वर्षिय रेग्मीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखेको जनाइएको छ।