सरकारका लागि राष्ट्रपतिले दिएको सात दिनको समय आज सकिँदै,कङ्ग्रेसले आफ्नो नेतृत्वमा सरकार नबने मधेसवादी दलको नेतृत्वलाई सहयोग गर्ने

 सहमतीय सरकारका लागि राष्ट्रपतिले दिएको सात दिनको समय आज शुक्रबार सकिँदैछ ।

 

काठमाडौ – सहमतीय सरकार निर्माणको अन्तिम प्रयासस्वरूप प्रमुख तीन दलले नेतृत्व दाबी गर्ने आ-आफ्ना मार्गचित्र सहित शुक्रबार निर्णायक छलफल गर्ने भएका छन् ।

 

आफ्नो नेतृत्व भए शान्ति र संविधान निर्माणलगायत विषयलाई निष्कर्षमा पुर्‍याउन कस्तो पहल गर्ने भन्नेबारे शुक्रबारको बैठकमा तीनै दलले मार्गचित्र प्रस्तुत गर्ने छन् । राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि दिएको सयम सकिने अन्तिम दिन उनीहरू यस्तो छलफलमा बस्न लागेका हुन् ।

 

एमाले संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकमा तीनै दलका शीर्ष नेताले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउनुपर्ने अडान नछोडेपछि स्पष्ट खाकासहित छलफल गर्ने सहमति भएको हो । ‘कसले नेतृत्व गर्दा उसको भावी मार्गचित्र के हो, त्यसलाई अगाडि राखेर छलफलमा बस्ने सहमति भएको छ,’ बैठकमा सहभागी एमाले पोलिटब्युरो सदस्य रामचन्द्र झाले भने, ‘नेतृत्व लिने आधार र योजनासहित शुक्रबार बैठक गर्ने तय भएको छ ।’ बैठक शुक्रबार बिहान शान्ति मन्त्रालयमा हुँदैछ ।

 

दलहरू शुक्रबारको छलफलबाट पनि सहमति जुट्ने आधार नदेखिए राष्ट्रपतिसँग सहमतिको थप समय नमागी बहुमतीय सरकार निर्माण प्रक्रियामा प्रवेश गर्ने निष्कर्षमा पुगेका छन् । सहमतीय सरकारका लागि राष्ट्रपतिले दिएको सात दिनको समय शुक्रबार सकिँदैछ । ‘सहमति जुट्ने आधार नदेखिए फेरि राष्ट्रपतिसँग समय माग्दा राम्रो सन्देश जाँदैन,’ झाले भने, ‘सहमति नजुटे बहुमतीय प्रक्रियामा जान्छ ।’

 

बैठकको सुरुमै एमाले अध्यक्ष झलनाथ खनालले तीनमध्ये जुन-जुन दुई दल एक ठाउँमा उभिन्छन् त्यसलाई अर्को दलले पनि मान्ने सहमति गर्न प्रस्ताव राखेका थिए । यस्तो भयो भने जसको नेतृत्व भए पनि सहमतीय सरकार बन्नसक्ने उनले उल्लेख गरेका थिए । ‘कांग्रेसको वा माओवादी नेतृत्वमा सहमति भयो भने एमाले त्यसमा सहयोग गर्छ,’ खनालले बैठकमा भनेका थिए, ‘यदि यस्तै सहमति एमालेको नेतृत्वमा बन्ने अवस्था आयो भने त्यसमा माओवादी र कांग्रेस पनि सामेल हुनुपर्छ ।’

 

बैठकमा कांग्रेस सभापति सुशील कोइरालाले माओवादी र एमाले दुवैले नेतृत्व यसअघि गरिसकेकाले अब कांग्रेसलाई दिनुपर्ने बताएका थिए । त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि ठूलो दलको नेतृत्वमा सरकार बन्दा शान्ति र संविधान निमर्ाण प्रक्रिया सहज हुने भन्ने आफ्नो दलिल पेस गरेका थिए ।

 

बैठकमा बहुमतीय सरकार निर्माणका लागि संसद् नियमावली संशोधन विवादबारे पनि सामान्य छलफल भएको थियो । तर तीनवटै दलले नियमावलीमा राखेको अडान छोडेनन् । ‘नियावलीको विषयमा छलफल जारी राख्ने कुरा भएको छ,’ बैठकपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने ।  प्रमुख तीन दलबीच तीनवटै प्रस्ताव एकैपटक संसद्मा पेस गर्ने कि छुट्टाछुट्टै भन्ने विवाद छ । त्यस्तै तीन जना उम्मेदवार भए पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारलाई मात्र अर्को चरणमा प्रवेश गराउने कि नगराउने भन्नेमा पनि उनीहरूबीच मतभेद छ ।

 

 

कङ्ग्रेसले आफ्नो नेतृत्वमा सरकार नबने मधेसवादी दलको नेतृत्वको सरकार निर्माणमा सहयोग गर्ने

 

काठमाडौं – यसभन्दा अगाडिको समाचार अनुसार नेपाली कङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले नेपाली कङ्ग्रेसले आफ्नो नेतृत्वमा सरकार नबने मधेसवादी दलको नेतृत्वको सरकार निर्माणमा सहयोग गर्ने बताएका छन्।

 

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता श्रेष्ठले माओवादी र एमालेले नेतृत्व गरिसकेको अवस्थामा आगामी सरकारको नेतृत्वको पालो कङ्ग्रेसको भएको दाबी पनि गरे। कङ्ग्रेसको नेतृत्व नस्वीकारे मधेसवादी दलको नेतृत्वलाई कङ्ग्रेसले सहयोग गर्ने उनको भनाइ थियो।

हिजो मधेसीलाई मुलुकको सर्वोच्च नागरिक राष्ट्रपति बनाउने काम पनि कङ्ग्रेसले नै गरेको हो भन्दै उनले अब प्रधान मन्त्री मधेसीलाई बनाउने कामका लागि पनि कङ्ग्रेस तयार रहेको बताए। तीन ठूला दलमा कुरा नमिले मुलुकलाई बन्धक त राख्‍नु भएन नि भन्दै उनले मधेसवादी दलकै नेतृत्वमा पनि मुलुकलाई निकास दिनुपर्ने बताए।

सरकार बनाउन नसक्नु तीन दलको असफलता भएको भन्दै सहमति नभए जनतामा दलहरुप्रति नकारात्मक सन्देश जाने र यसको परिणाम दलहरुले नै भोग्नुपर्ने चेतावनी पनि उनले दिए। उनले कङ्ग्रेसको अहिलेका उम्मेदवार संसदीय दलका नेता रामचन्द्र पौडेल नै भएको भन्दै अरु नेताको नेतृत्वमा सहमति जुटने सम्भावना भए कङ्ग्रेसले पौडेलको विकल्प खोज्ने स्पष्ट पारे।

उनले शीर्ष नेताहरुमाथि यसरी आक्रमण हुनु घृणित र दुखको कुरा हो भन्दै झलनाथलाई थप्पड हानेकामा त्यसको भर्त्सना गरे।

साक्षात्कारमा मधेसी जनाधिकार फोरमका महासचिव जितेन्द्र देवले तीन दलले नसके मुलुकलाई निकास दिन मधेसवादी नेताहरु सक्षम रहेको भन्दै पार्टी अध्यक्ष विजयकुमार गच्छदार सक्षम रहेको दाबी गरे। गच्छदारलाई जिम्मा दिए उनले अहिलेसम्म कसैले गर्न नसकेको काम गरेर देखाइदिने दाबीसमेत गरे।

नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले सहमतिका लागि चक्रीय प्रणाली उपयुक्त विकल्प हुने भन्दै त्यसमा कङ्ग्रेसको पहिलो नेतृत्व एमालेलाई स्वीकार्य भएको बताए। पहिलो चरणको नेतृत्वमा एमालेको कुनै दाबी छैन भन्दै उनले कङ्ग्रेसको नेतृत्व एमालेलाई स्वीकार्य छ भने।

माओवादीले अर्काको घरमा आगो लगाएर ताप्ने प्रयास गरेको भन्दै यस्तो व्यवहार नछाडेसम्म सहमतिको सम्भावना न्युन बन्ने चेतावनीसमेत उनले दिए।