– काँग्रेस र एमालेले कुनैपनि हालतमा माओवादी नेतृत्वको सरकार स्वीकार्य नहुने अडान छाडेका छन् । शुक्रबार बिहान शान्ति मन्त्रालयमा भएको तीन दलका शीर्ष नेताको बैठकमा सरकारको नेतृत्व खुला राखेर छलफल गर्न दलहरु सहमत भएका हुन् ।
काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार सरकार गठनका लागि सहमती जुटाउन शुक्रबार बिहान बसेको तीन दलको बैठकमा कांग्रेस-एमालेले यसअघि राख्दै आएको अडान त्यागेका छन्। सेना र हतियार भएको दलको नेतृत्वमा नस्वीकार्ने अडान अडान त्यागेपछि तीन दलको जुनसुकै नेताको नेतृत्वमा सरकार गठन हुने भएको छ।
‘पहिला कांग्रेस एमालेले हतियार र सेना भएको पार्टीको नेतृत्व नस्वीकार्ने भन्ने थियो’, बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने – ‘अब तीन दलको जुनसुकै नेता पनि प्रधानमन्त्री बन्ने सहमति भएको छ।’
बैठकले सहमतीय सरकारका लागि पाँच दिन थप्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ। तीन दलबीच भएको सहमति २८ दलबीच छलफल भएपछि दलहरुले सहमतीय सरकार गठनका लागि समय थप्न राष्ट्रपति समक्ष आग्रह गर्नेछन्।
यसअघि राष्ट्रपतिले सहमतीको आधारमा प्रधानमन्त्री चयन गर्न दिएको एक साता लामो समय आजै राति १२ बजे सकिँदैछ। दलहरुको आग्रहपछि राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दोस्रो पटक पाँच दिनसम्म थप्न सक्नेछन्।