चितवनको जुटपानीमा रहेको माओवादी लडाकूको तेस्रो डिभिजनमा हुने समारोहको व्यवस्थापनका लागि पूरै डिभिजन तयारीमा जुटेको हो । सो डिभिजनका पाँच सयभन्दा बढी लडाकूहरु मञ्च व्यवस्थापन र स्वागतद्वार निर्माणमा लागेका छन् ।
शिविरभित्रको खेल मैदानमा निर्माण गरिएको मञ्चमा दुई हजारभन्दा बढी व्यक्ति अटाउने क्षमता रहेको छ । शिविर परिसर ध्वजापताकाले सिंगारिएको छ भने मुख्य प्रवेशद्वारमा विशेष स्वागतद्वार निर्माण गरिएको छ ।
शनिबार बिहान ११ बजे सुरु हुने विशेष समारोहमा प्रदर्शनका लागि युद्धकला, पिटी, परेड, कवाज, मार्सल आर्ट र सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिने शिविरले जनाएको छ । त्यसैगरी विशिष्ट व्यक्तिको सलामीका लागि दुई सयभन्दा बढी लडाकूले तयारी गरेको शिविर स्रोतले जानकारी दिएको छ ।
औपचारिक समारोहमार्फत माओवादी लडाकूलाई विशेष समिति मातहत ल्याउन सरकार र माओवादीकाबीच सहमति भएपछि गएको बुधबारको बैठकले कार्यक्रमको आयोजना गर्ने जिम्मा माओवादीलाई र व्यवस्थापकीय जिम्मा गृहमन्त्रालयलाई दिएको थियो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले शिविरभित्र समाचार सङ्कलनका लागि जाने पत्रकारका लागि जिल्ला प्रशासन कार्यालयबाटै प्रेस पास लिनुपर्ने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले बताउनुभयो ।
गृहसचिव गोविन्द कुसुम शुक्रबार दिउँसो १ बजे चितवन आइसकेका छन् भने नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द ठकुरी, सशस्त्र प्रहरीका महानिरीक्षक सनत बस्नेत र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्ट पनि साँझ आइपुगेका छन् ।
शिविरभित्र पनि पहिलोपटक नेपाल प्रहरीले सुरक्षा दिनेछ । रासस



