कांग्रेसद्बारा माओवादी पार्टीसंग उसका लडाकुको सम्बन्ध विच्छेद भएको औपचारिक घोषणालाई सकारात्मक लिए पनि सरकारको नेतृत्व माओवादीलाई नदिने पक्षमा


 

– कुलचन्द्र न्यौपाने

 

काठमाडौ – माओवादी पार्टीसंग उसका लडाकुको सम्बन्ध विच्छेद भएको औपचारिक घोषणालाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ । तर यसकै आधारमा सरकारको नेतृत्व माओवादीलाई दिने पक्षमा कांग्रेस अझै छैन ।

‘शिविरका लडाकु विशेष समिति मातहत आउनु एउटा प्रगति हो तर यसैको आधारमा उसलाई सरकारको नेतृत्व दिंदा समायोजन र पुनःस्थापना फटाफट होला भन्नेमा अझै विश्वास गर्न सकिंदैन,’ कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘सरकारको नेतृत्व दिंदा विशेष समितिको संयोजक र सरकारको सुरक्षा अंगसमेत प्रधानमन्त्रीकै कमाण्डमा रहने हुँदा अविश्वास कायमै रहन्छ ।’

तीन दलको बैठकमा शुक्रबार पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले विशेष समिति मातहत आएपछि सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनु पर्ने अडान राख्दा कांग्रेसले यस्तो अविश्वास व्यक्त गरेको थियो । शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकुको समायोजन र पुनःस्थापनालाई मुख्य अडान बनाउँदै आएको कांग्रेसले वाम/लोकतान्त्रिक गठबन्धनलाई कायम राखेर आफ्नो नेतृत्वमा सरकार बनाउने प्राथमिकता राखेको छ । यसका पछि उसले एमालेको साथ पाउने सम्भावना जिवितै राखेको छ ।

‘सुरक्षा अंगमा समायोजन हुने, समाजमा पुनःस्थापना हुने र स्वैच्छाले घर फर्कन चाहने लडाकुलाई तीन शिविरमा राखेर समायोजन प्रक्रिया सुरु भएपछि मात्रै माओवादी नेतृत्व मान्न सकिन्छ,’ उनले भने, ‘या कुनै उपायबाट शान्ति प्रक्रियाको नेतृत्व कांग्रेसले लिनेगरी प्याकेजमा सहमति जुटेमा माओवादी नेतृत्वको सरकार सम्भव हुनेछ ।’

कांग्रेसको पूर्वअडान कायमै रहेकाले राष्ट्रपतिले थप गरेको पाँच दिनभित्र पनि सहमतीय सरकार बन्नेमा शंका छ । शुक्रबार बैठकमा सरकारको नेतृत्वमा दलहरूले आ-आफ्नो अडान दोर्‍याएका थिए । बैठकमा आफ्नो नेतृत्व सम्भव नभए विकल्पमा कसको नेतृत्व स्वीकार गर्न सकिन्छ भन्ने प्रस्ताव तीनवटै दलले प्रस्तुत गर्नेगरी बैठक टुंगिएको थियो ।

एमालेसँगको सहकार्यमा भन्दा शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान निर्माणमा सहमति गरेर माओवादीलाई सरकारको नेतृत्व दिनुपर्छ भन्ने धार पनि कांग्रेसमा उदाएको छ । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला विशेष समितिको जिम्मेवारी कांग्रेसले लिएर सरकारको नेतृत्व माओवादीलाई दिंदा शान्ति र संविधान निर्माण अघि बढ्न सक्ने तर्क अघि सार्छन् ।  

‘विशेष समितिमा आउनुलाई सकारात्मक रूपमा लिएका छौं, लडाकु र पार्टीको भूमिका के हुन्छ भन्नेबारे व्यवहारमा हेर्न केही समय पर्खनुपर्छ,’ कोइरालाले भने, ‘तर शान्ति प्रक्रियाका बाँकी कामको नेतृत्व मुख्य अडान लिएको दलको हैसियतले कांग्रेसले लिएर माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ ।’

कांग्रेसका युवा नेताहरू चन्द्र भण्डारी, गगन थापा, सुरेन्द्र पाण्डे, शंकर भण्डारी, बद्री पाण्डेलगायत माओवादीसँग सम्बन्ध सुधार गर्ने अभियानमै जुटेका छन् । उनीहरूले शुक्रबार माओवादी अध्यक्ष दाहालसँग भेटेर अविश्वासको दूरी घटाउँदै जेठ १४ मा संविधान निर्माण पूरा गर्न दुई दलबीचको सम्बन्ध सुधारमा जोड दिएका थिए ।

माओवादी अध्यक्ष दाहालले गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेसले आफूहरूलाई यही प्रक्रियामा नै आत्मर्समर्पण गराउन लागेको गुनासो गर्दै माओवादीको पृष्ठभूमिलाई बुझीदिन आग्रह गरेका थिए । कांग्रेसका युवा नेताहरूले भने लोकतान्त्रिक विश्वव्यापी मान्यतामा माओवादी पछि हट्न नहुने बताएका थिए ।

 ‘शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान निर्माण गर्ने मुख्य दुई झगडीया भनेकै माओवादी र कांग्रेस हुन्, दुई झगडीया बीचमा सहमति हुनसक्यो भने शान्ति र लोकतान्त्रिक संविधानले मूर्तरूप पाउँछ,’ युवा नेता थापाले भने, ‘त्यसैले शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधानमा सहमति कायम गरेर सरकारको नेतृत्व माओवादीलाई दिनर्ुपर्छ भन्ने हाम्रो पनि जोड छ ।’