काठमाडौ – प्राप्त समाचार अनुसार संघीयताविरोधी एक मात्र पार्टी राष्ट्रिय जनमोर्चा नेपाल फेरि फुटेको छ । बिहीबार मोर्चाका बाग्मती अञ्चल इन्चार्ज मिननाथ देवकोटाले अर्को पार्टीको घोषणा गरेका छन् ।
यो पार्टी एकै बर्षमा दोस्रोपटक फुटेको हो । यसअघि गत असारमा महासचिव डिलाराम आचार्यले पार्टी फुटाएर नयाँ पार्टी खोलेका थिए ।
देवकोटाले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ३१ सदस्यीय नेपाल कम्यूनिष्ट पार्टी (माले) राष्ट्रवादी घोषणा गरेका हुन् । उनले नयाँ पार्टी संघीयता बिरोधी नभएको पनि स्पष्ट पारे । प्राकृतिक स्रोत साधन र उपयुक्तताको आभारमा पाँच प्रान्तमा मुलुकलाई विभाजन गर्नु पर्ने धारणा रहेको पनि उनले बताए ।
उनले आफ्नो पार्टीमा हाल पाँच सय सदस्य रहेको उल्लेख गर्दै माघ १५ गतेदेखि देशब्यापी रुपमा संगठन विस्तार अभियान थाल्ने बताए । देवकोटा संयोजक रहेको पार्टीमा उपाध्यक्षमा गुन्जबहादुर कुमाल र सरस्वती न्यौपाने, सचिवमा चित्रबहादुर न्यौपानेलगायतका छन् ।



