नयाँ संविधानमा रहने विषयबारे दलहरूबीच सहमति भएका र हुन बाँकी विषयगत समितिका सात प्रतिवेदन संविधानसभाले संवैधानिक समितिमा पठाएको तेस्रो दिन समितिले परामर्श थालेको छ ।
संविधानसभाको बुधबारको बैठकले सहमति हुन बाँकी विषयमा विवाद मिलाउन र सहमति भएकामा संविधानको प्रारम्भिक मस्यौदा लेखन अघि बढाउन संवैधानिक समितिलाई जिम्मेवारी दिएको थियो । संविधानसभाले दिएको जिम्मेवारीअनुसार सहमति भइसकेका विषयलाई अघि बढाउन परामर्श थालेको सभापति आचार्यले बताए । ‘चार महिनामात्रै समय बाँकी भएकाले कसरी अघि बढ्ने भनेर विशेषज्ञहरूसँग परामर्श गरेको हुँ,’ आचार्यले भने, ‘अब संविधान लेखनबारे छलफललाई तीव्र पारिनेछ ।’
असहमतिका विषयबारे पनि दलहरूसँग छलफल थालिसकेको आचार्यले जनाए । ‘मिलेका विषयमा मस्यौदा लेख्ने र नमिलेका विषयमा सहमति खोज्ने काम सँगसँगै अघि बढ्छ,’ उनले भने ।
उनले शुक्रबार कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलसहित प्रमुख सचेतक लक्ष्मण घिमिरे र एमालेका प्रमुख सचेतक भीम आचार्यलगायतसँग छलफल गरेका थिए । समितिले आइतबार बिहान माओवादीसँग छलफल गर्दैछ ।
शनिबार सिंहदरबारस्थित समिति कार्यालयमा भएको छलफलमा संवैधानिक कानुनका विशेषज्ञहरू टीकाराम भट्टराई, भिमार्जुन आचार्य, सूर्यनाथ उपाध्याय, काशीराज दाहाल, सूर्य ढुंगेल, बद्रीबहादुर कार्कीलगायत थिए । चन्द्रकान्त ज्ञवाली, कुमार रेग्मी, पूर्णमान शाक्य, सिन्धुनाथ प्याकुरेललगायतलाई बोलाए पनि उनीहरू उपस्थित थिएनन् । सभापति आचार्यले संविधान लेखनबारे परामर्श लिने सूचीमा राखिएका ११ जनाको नाम पढेर सुनाएका थिए ।
ज्ञाताहरूले सहमति भएका विषयमा तत्काल मस्यौदा लेखन अघि बढाउन समितिलाई सुझाव दिएका छन् । ‘सहमति भएका विषयमा मस्यौदा लेखन सुरु गरिहाल्न सुझाव दियौं,’ संवैधानिक कानुनका ज्ञाता भट्टर्राईले भने ।
दलहरूबीच सहमति भएका विषय पनि कुन-कुन भाग कुन धारा र उपधारामा रहने र भाषागत हिसाबले कसरी प्रस्तुत गर्नेबारे टुंगोमा पुग्न सुझाव दिएको भट्टर्राईले बताए ।
अहिलेसम्म संविधानको मस्यौदा लेखनका लागि औपचारिक रूपमा विशेषज्ञहरूको चयन भएको छैन । संविधानसभा नियमावलीको दफा ६५ (८) मा मस्यौदा लेखनका लागि विशेषज्ञ चयन गर्न सकिने व्यवस्था छ । औपचारिक रूपमा विशेषज्ञहरू चयन नभए पनि समितिले शनिबारदेखि नै सम्बद्ध विशेषज्ञहरूबाट मस्यौदा लेखनको छलफल गरेको हो । दलहरूस



