प्रधानमन्त्रीको निर्वाचनका लागि माओवादी पुष्पकमल दाहाल, एमाले झलनाथ खनाल र काँग्रेस रामचन्द्र पौडेलद्वारा उम्मेदवारी दर्ता

काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार संसदमा प्रधानमन्त्रीको निर्वाचनका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र काँग्रेस संसदीय दलका रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। दाहालका प्रस्तावमा बाबुराम भट्टराई र समर्थकमा नारायणकाजी श्रेष्ठ छन्। त्यसैगरी पौडेलका प्रस्तावक प्रकाशमान सिंह र समर्थक रामकृष्ण यादव छन्। खनालको प्रस्तावकमा भीम आचार्य छन् भने समर्थकमा रामचन्द्र झा छन्।


उम्मेदवारी दर्ता गराएपछि पौडेलले पार्टीको विगतको निर्णय अनुसार संसदीय दलका नेताका रुपमा आफूले उम्मेदवारी दर्ता गराएको बताए।

पौडेलको उम्मेदवारी दर्ता गराउँदा देउवापक्षीय नेताहरु देखिएनन्। तर खनालको उम्मेदवारी दर्ता गराउँदा ओली पक्षीय नेता र दाहालको उम्मेदवारी दर्ता गराउँदा दुवै उपाध्यक्ष र महासचिव रामबहादुर थापा देखिएका थिए।

यसैगरी माओवादी संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। यसरी नै कङ्ग्रेस केन्द्रीय समिति बैठकले रामचन्द्र पौडेललाई नै पुन: प्रधान मन्त्रीको उम्मेद्वार बनाउने निर्णय गरेको छ। यो निर्णयप्रति देउवा पक्षधर भने रुष्ट भएका छन्। उनीहरुले १६ पटक हारिसकेका व्यक्तिलाई फेरि उम्मेद्वार बनाउने निर्णय गलत भएको भन्दै त्यसप्रति असहमति व्यक्त गरेका छन्।