काठमाडौ – प्राप्त समाचार अनुसार व्यवस्थापितका संसदमा बिहीबार भएको चुनावबाट नयाँ प्रधानमन्त्री चुनिएपछि दलहरुले सरकार गठनका लागि प्रयास थालेका छन् । यो क्रममा आज नव निर्वाचित प्रधानमन्त्री झलनाथ खनालले एकीकृत माओवादी र अन्य दलहरुसँग छलफल गर्नुहुने भएको छ ।
एकीकृत माओवादीको समर्थनमा प्रधानमन्त्रीको निर्वाचित सफल हुनुभएका झलनाथ खनालले बहुमतीयभित्र पनि सहमतीय सरकार गठनका लागि आफूले प्रयास गर्ने बताउनुभएको छ । माओवादी सरकारमा सहभागी हुने पक्षमा रहे पनि एमालेलाई समर्थन गर्ने निर्णयप्रति विपक्षमा रहेको उपाध्यक्ष डा बाबुराम भट्टराई नजिकका नेताहरु भने सरकारमा नजाने भएका छन् ।
नव निर्वाचित प्रधानमन्त्री खनालले आउने आइतबार पद तथा गोपनीयताको सपथ लिनुहुने छ । आइतबार नै प्रधानमन्त्री थोरै सदस्य रहेको मन्त्रीमण्डल बनाउनुहुनेछ । राष्ट्रपति भारत भ्रमणमा रहनुभएकोले सपथ ढिला भएको हो । राष्ट्रपति भोलि स्वदेश फर्कँदै हुनुहुन्छ ।
काङ्ग्रेस सरकारमा नजाने
समाचार अनुसार नेपाली काङ्गेस सत्ता समीकरणको नयाँ गठबन्धनमा सहभागी नहुने भएको छ । सहमतिको कुरा गर्दा गर्दै पनि अन्तिम अवस्थामा माओवादी र एमालेले धोका दिएको संसदीय दलको मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले बताउनुभयो ।
गलत तरिकाले बन्न लागेको गठबन्धमा काङग्रेस सहभागी नहुने र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि घिमिरे बताउनुभयो । संविधान निर्माण र शान्ति प्रक्रियाका लागि भने आफ्नो पार्टीले सहयोग गर्ने उहाँको भनाइ छ ।