– नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले योग्य र सक्षम व्यक्तिहरु रहेको सानो मन्त्रिमण्डल बनाउन आफूले चाहेको बताएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि शुभकामना दिन उनको निवास पुगेका पत्रकार टोलीसंग कुरा गर्दै उनले शान्ति र संविधान आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । ‘योग्य र सक्षम व्यक्तिहरुको सानो मन्त्रीमण्डल बनाउन चाहेको छु,’उनले भने-‘यस विषयमा सहयोगी दलहरुसंग छलफल गरेर निर्णयमा पुग्ने छु ।’उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्नु पनि आफ्नो प्राथमिकतामा रहेको बताए । ‘मुलुकमा व्याप्त अराजतका अन्त्य गर्ने विशेष प्रयास गर्नेछु,’उनले भने । उनले शान्तिसंगै विकासका गतिविधी पनि आफ्नो प्राथमिकतमा रहेको बताए । आफ्नो सरकारलाई बाम गठबन्धनका रुपमा नलिदिन भन्दै उनले लोकतान्त्रिक पक्षसंग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे । भारतीय प्रधानमन्त्रीले फोन गरेर र चिनियाँ राजदूतले भेट गरेर शुभकामना व्यक्त गरेको उनले जनाए । ‘दुई छिमेकी मुलुकहरु हामीसंगको समबन्ध अझै विकसित होस भन्ने चाहन्छन्,’उनले भने-‘दुवै छिमेकीसंगको सम्बन्ध सुमधुर राख्ने आफ्नो प्रयास हुनेछ ।’ )

काठमाडौं – नेपाली संचार माध्यमहरुले जनाए अनुसार एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री चयन भएपछि मन्त्रालय र सरकारमा पठाउने व्यक्तिबारे शुक्रबार अनौपचारिक छलफल सुरु भए पनि निर्वाचनमा सहयोग गर्ने माओवादीसँग एक चरण वार्ता गरेपछि मात्रै अन्तिम टुंगो लगाइने भएको छ।
समाचार जनाईए अनुसार माओवादीसँग सरकारमा सामेल गराउने व्यक्तिबारे औपचारिक छलफल नभएकाले शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकमा सरकारलाई पूर्णता दिने विषयमा खासै छलफल नभएको सहभागी नेताहरूले बताए। ‘माओवादीसँग एक चरण छलफल गरेपछि मात्रै मन्त्रालय र सरकारमा पठाउने व्यक्तिहरू नामावली तय हुनेछ,’ बैठकमा सहभागी एक सदस्यले भने, ‘आइतबार शपथलगत्तै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने विषयमा भने कुराकानी भएको छ।’
नवनिर्वाचित प्रधानमन्त्री खनालनिकट केन्द्रीय सदस्य घनश्याम भुषालले सरकारको पूर्णताबारे पार्टी-पार्टीबीच र पार्टीभित्र खासै छलफल नभएको बताए। ‘भोलिदेखि मात्रै छलफल सुरु होला,’ भुषालले भने।
स्रोतका अनुसार एमाले अध्यक्ष खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री चुनावअघि भएका छलफलमा माओवादीलाई मन्त्रालय संख्या बढी दिने र निश्चित मन्त्रालय प्रधानमन्त्रीको साथमा रहने मोटामोटी सहमति भएको छ। यसबाहेक कुन पार्टीले कुन-कुन मन्त्रालय लिने भन्नेबारे विस्तृत छलफल नभइसकेेको स्रोतको दाबी छ।
मन्त्रिपरिषद्मा पठाउने व्यक्तिहरू नवनिर्वाचित प्रधानमन्त्री खनाल र स्थायी कमिटी सदस्य केपी शर्मा ओलीबीचको सहमतिमा तय गरिने सम्भावना रहेको पनि स्रोतहरूले बताए। निर्वाचन जितेको व्यक्तिलाई प्राथमिकता दिने र अघिल्लो मन्त्रिपरिषदको व्यक्तिलाई नदोहोर्याउन दुवै नेता सहमत भएका छन्।
एमालेबाट मन्त्रिपरिषद्मा सामेल हुनेमा भरतमोहन अधिकारी, विष्णु पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुषाल, राजेन्द्र श्रेष्ठ, गोकर्ण विष्ट, यामलाल कँडेल, योगेश भट्टराई, भानुभक्त ढकाल, पृथ्वी सुब्बा गुरुङ, विजय सुब्बा, उर्मिला अर्याल, खगराज अधिकारी, रामचन्द्र झा, रघुवीर महासेठ लगायतको नाम चर्चामा ल्याइएको छ। एमालेले अर्थ मन्त्रालय पाए अधिकारीलाई अर्थमन्त्री बनाउनेमा खनालको जोड छ। त्यस्तै विष्णु पौडेलले समेत महत्त्वपूर्ण मन्त्रालय पाउने सम्भावना छ।
शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका प्रदीप ज्ञवालीले सूचना तथा सञ्चार वा शान्ति मन्त्रालयमध्ये कुनै एक पाउने सम्भावना रहेको स्रोतले बताएको छ। पौडेल र ज्ञवाली दुवै लुम्बिनी अञ्चलका भएकाले एकजनालाई मात्रै सरकारमा लैजानुपर्ने विचार पार्टीभित्र देखिएको छ।
पार्टीभित्र बौद्धिक व्यक्तित्वका रूपमा चिनिएका घनश्याम भुषाल मन्त्रिपरिषदमा नपरे प्रमुख राजनीतिक सल्लाहकार बनाइने सम्भावना रहेको स्रोतहरूले बताए। भुषालसँगै राजनीतिक सल्लाहकारमा राजेन्द्र पाण्डे र पुरुषोत्तम पौडेलको नाम पनि चर्चामा ल्याइएको छ। पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले पनि मन्त्रिपरिषद्मा वा सल्लाहकार समूहमा महत्त्वपूर्ण जिम्मेवारी पाउने सम्भावना छ।
त्यस्तै गोकर्ण विष्ट, योगेश भट्टराई र भानुभक्त ढकालजस्ता युवा नेताले समेत जिम्मेवारी पाउने सम्भावना छ। तर, मन्त्रिपरिषद्मा समावेश हुन व्यवस्थापिका संसदको सदस्य हुनुपर्ने मापदण्ड बनाएको स्थितिमा यो स्थान रविन्द्र अधिकारी, यामलाल क”डेल लगायतका सभासदले पाउने छन्।
रामचन्द्र झा र रघुवीर महासेठ मध्येबाट एकजना, मोहम्मद आलम र रिजवान अन्सारी मध्येबाट एकजनालाई मन्त्रिपरिषद्मा सहभागी गराइने सम्भावना रहेको पनि स्रोतले बतायो। त्यस्तै दलबहादुर राना र राधा ज्ञवालीलाई पनि मन्त्रिपरिषद्मा सहभागी गराइने सम्भावना छ।
माओवादीले भने स्थायी कमिटी सदस्य कृष्णबहादुर महराको नेतृत्वमा नेताहरूलाई सरकारमा पठाउने तयारी गरिरहेको छ। पार्टी उपाध्यक्ष मोहन वैद्य समूहले भने महासचिव रामबहादुर थापाको नेतृत्वमा सरकारमा पठाउनुपर्ने विचार अघि सारेको स्रोतले बतायो। एमाले र माओवादीबीच औपचारिक छलफल भएर मन्त्रालय टुंगो लागेपछि मात्रै मन्त्रीहरूको नाममा छलफल हुने छ।