
राष्ट्रपति रामवरण यादवले नवनिर्वाचित प्रधानमन्त्री खनाललाई राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । नेपाली राष्ट्रिय पोसाक दौरा-सुरुवालमा सजिएका खनालले अपरान्ह ३. १९ बजे शपथ लिएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्रपतिसँगै उपराष्ट्रपति परमानन्द झा, निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपाल, प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ, सभामुख सुवासचन्द्र नेम्वाङलगायत संवैधानिक अंगका प्रमुखहरुको उपस्थिति थियो ।
यसैगरी राष्ट्रपति निवासमा भएको शपथ ग्रहणमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत उपस्थित थिए ।
यसैगरी पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, प्रधानसेनापति छत्रमानसिंह गुरुङलगायतको उपस्थिति थियो ।
एमालेभित्र विपरीत ध्रुवमा रहेका भनिएका एमाले बरिष्ठ नेता केपी शर्मा ओलीले भने खनालसँग केहीक्षण अंगालो मारेका थिए । प्रधानमन्त्री खनाललाई शुभेच्छुकले लगाएका खादा ओलीको कोटको खल्तीमा अड्किएपछि केहीबेर हाँसो छाएको थियो ।



