कार्यभार सम्हालेलगत्तै खनालले तीन वटै सुरक्षा निकायका प्रमुख र सचिवहरुलाई संयुक्त निर्देशन दिएका हुन् ।
राष्ट्रिय योजना आयोग हलमा सबै अधिकारी भेला गरी उनले शान्ति सुरक्षा कायम गर्नु र भ्रष्टाचार रोक्नु आफ्नो प्रमुख प्राथमिकता भएकाले त्यसलाई ध्यान दिन निर्देशन दिए । ‘शान्ति सुरक्षा मजबुत हुनुपर्छ, भ्रष्टाचारको गन्ध कतै आउनुहुँदैन भन्नेमा प्रधानमन्त्रीको जोड थियो,’ बैठकमा सहभागी एक अधिकारीले भने । प्रधानमन्त्रीले शान्ति प्रक्रिया टुंगाउने र समयमै संविधान निर्माण गर्ने मुलुकको कार्यभार भएकाले त्यसलाई सफल पार्ने दिशामा सरकार लाग्ने जानकारी गराए । प्रशासन संयन्त्र चुस्त दुरुस्त हुनुपर्ने र जनसरोकारका कामलाई तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन उनले निर्देशन दिए । प्रधानमन्त्री खनालले झण्डै २५ मिनेट निर्देशन दिएका थिए । उनले आफ्नो कार्याकालमा कुनै पनि कर्मचारीको मनोबल गिर्न नदिने प्रतिबद्घता पनि व्यक्त गरेका थिए ।
‘म कुनै पनि कार्मचारीलाई अपमानित र अपहेलित हुन दिने छैन,’ उनले भनेका थिए । यो बामपन्थी गठबन्धनको सरकार हो भन्ने सन्चारकर्मीको प्रश्नको खनालले ‘लोकतान्त्रिक गठबन्धन भएको’ दाबी गरे । खनाल सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सर्ने भएका छन् । डल्लुस्थिति निजी निवासबाट उनी सोमबार अपरान्ह तीन बजे बालुवाटार सर्ने तयारी गरिरहेको स्रोतले बतायो । निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार बिहान सरकारी निवास छोडेका थिए ।



