पार्टीका असन्तुष्टिपूर्ण गतिबिधीको कारण देखाउदै एमाले पोलिटब्युरो सदस्य झाद्वारा राजिनामा

एमाले पोलिटब्युरो सदस्य रामचन्द्र झाले  मंगलबार पार्टीबाट राजिनामा दिएका छन् ।


पार्टी मुख्यालय बल्खु पुगेर झाले महासचिव ईश्वर पोखरेलसमक्ष राजिनामा बुझाएका हुन् । एमालेले मन्त्रिमण्डलमा सिफारिस गरेका तीन जनामा आफूलाई समावेश नगरेको भन्दै झाले राजिनामा दिएको स्रोतको दाबी छ । झा पार्टीमा अध्यक्ष झलनाथ खनाल निकट मानिन्थे । उनी संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नं. १ बाट विजयी भएका हुन् ।


झा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा स्थानिय विकाश मन्त्री थिए । नयाँ मन्त्रिमण्डलमा मधेसलाई महत्त्वपूर्ण मन्त्रालयको दाबी गर्दै तीन दिन अघि बसेको एमाले संसदीय दलको बैठकमा झाले धम्किपूर्ण भाषामा भनेका थिए, ‘तराई क्षेत्रलाई हेर्ने सबालमा अलिक फराकिलो हुनुहोस्, एमालेलाई आएको आठ लाख मधेसीको भोटको सम्मान गर्नुहोस्, जे दियो त्यसमै चित्त बुझाउँछन् भन्ने नसोच्नुहोला ।


नेता झाले भने आफूले पार्टीबाट राजिनामा भने नदिएको दाबी गरेका छन् । ‘पार्टीसँग मेरा केही असन्तुष्टि थिए, त्यसलाई राखेको हुँ,’ उनले संचारकर्मीहरु सँग भने।