एमालेद्वारा प्रधानमन्त्री झलनाथ खनालको सल्लाहकार र निजी सचिवालयमा रहने व्यक्तिहरूको नाम सिफारिस

काठमाडौं – काठमाडौंको बल्खु एमाले केन्द्रिय कार्यालय स्रोतबाट प्राप्त समाचार अनुसार एमालेको राज्य व्यवस्था विभागले सल्लाहकार र निजी सचिवालयमा रहने व्यक्तिहरूको नाम बुधबार प्रधानमन्त्री झलनाथ खनाललाई सिफारिस गरेको छ । प्रमुख सल्लाहकारमा भने कसैलाई सिफारिस गरिएको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खनालले नाम छनोट गर्न विभागलाई भनेका थिए ।

विभागले सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा युवराज संग्रौलालाई सिफारिस गरेको छ । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा पुरुषोत्तम पौडेल र निर्मल भट्टराईको नाम छ । पौडेल पूर्वसांसद हुन् भने भट्टराई एमाले अध्यक्षको सचिवालय सचिव तथा उपत्यका समन्वय समितिका सदस्य हुन् ।

त्यस्तै, पराराष्ट्र मामिला सल्लाहकारमा मिलन तुलाधर र प्रेस सल्लाहकारमा पत्रकार सूर्य थापाको नाम सिफारिस भएको छ । तुलाधर भूमिगत कालदेखि नै एमालेमा सक्रिय र खनालका समकालीन हुन् । विदेश विभाग सदस्यसमेत रहेका तुलाधर ‘इसिमोड’ मा कार्यरत छन् । थापा पार्टी प्रचार विभाग सचिव हुन् । त्यस्तै, प्रधानमन्त्रीका निजी सचिवमा दीपक अमात्य र रामबाबु अधिकारीलाई सिफारिस गरिएको छ । अमात्य खनाल सञ्चारमन्त्री हुँदा निजी सचिव थिए भने अधिकारी प्रधानमन्त्री हुनुअघिदेखि निजी सचिवका रूपमा काम गरिरहेका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले सिफारिस भएका सातै जनालाई बिहीबार नियुक्ति गर्ने सम्भावना छ ।