स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको चुनाव चैतको तेस्रो साता हुने

– रुबी रौनियार, नागरिक

 

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैतको तेस्रो साता हुने भएको छ। प्रमुख विद्यार्थी संगठनको राजधानीमा बसेको संयुक्त बैठकले चुनाव गर्ने सहमति गरेको हो। चुनाव प्रणालीबारे भने अझै टुङ्गो लागिसकेको छैन्। नेपाल ल क्याम्पसमा शुक्रबार १२ विद्यार्थी संगठनका प्रतिनिधिले चुनावी मिती र प्रणालीबारे छलफल गरेका थिए।

काँग्रेस निकट नेपाल विद्यार्थी संघ अध्यक्ष प्रदिप पौडैलले चुनाव प्रणालीबारे पनि छिटै टुँगो लाग्ने बताए। नेविसंघ प्रत्यक्ष प्रणालीबाटै चुनाव गराउने अडानमा छ।


एमाले निकट अनेरास्ववीयु अध्यक्ष माधव ढुङ्गेलले चुनाव मिश्रित प्रणालीमा हुनु पर्ने अडान राखेका छन्। त्यस्तै माओवादी निकट अखिल क्रान्तिकारी, अनेरास्ववीयु पाचौं, नेपाल विद्यार्थी मंच, अनेरास्वीयु एकीकृत, नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन, मधेसी विद्यार्थी फोरम, मधेसी विद्यार्थी फोरम (लेाकतान्त्रिक) लगायतले समानुपातिक प्रणालीबाट चुनाव हुनुपर्ने धारणा राखेका छन्।


नेविसंघलाई समानुपातिक प्रणाली मान्य नहुने अध्यक्ष पौडेलले नागरिकलाई बताए। ‘अन्य संगठनले उठाएका समानुपातिक प्रणालीले जातिय, वर्गीय, लिङगीय र क्षेत्रीयको होइन वरु संगठनको उत्थान हुने हो’, उनले भने।


विगतमा प्रत्यक्ष निर्वाचन प्रणालीले स्ववीयुलाई भ्रष्टाचारको अखडा बनाउदै गएको अनेरास्ववीयु अध्यक्ष ढुंगेलको तर्क छ। ‘स्ववीयुलाई भ्रष्टाचारको अखडाबाट मुक्त गर्न मिश्रित प्रणालीमा जानुपर्छ’, ढुँगेल भन्छन् ‘बढी मत ल्याउने संगठनले स्ववीयु निर्माण गर्न पाउनु पर्छ।’


अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा भने चुनाव समानुपातिक प्रणालीबाटै हुनु पर्ने पक्षमा छन्। ‘सबै भन्दा बढी मत ल्याउने संगठनले सभापति पद पाउने अवधारणा हाम्रो हो’, शर्माले भने