काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार माओवादी संसदको सोमबार बस्ने बैठकमा प्रतिस्थापन विधेयकको पक्षमा उभिने सहमत भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री झलनाथ खनालबीच आइतबार बिहान भएको छलफलमा नयाँ बजेट ल्याउने शर्तमा अध्यादेश अनुमोदन गर्न माओवादी सहमत भएको हो ।
छलफलमा सहभागी माओवादीका नेता देव गुरुङका अनुसार हतारमा लयाइएको अध्यादेशबारे छलफल गर्न प्रधानमन्त्रीले आज माओवादीलाई बोलाएको थिए । सरकार परिवर्तन भएकाले पुरानै बजेटको निरन्तरता हुन नसक्ने कुरा बैठकमा राखेको गुरुङले जानकारी दिए । भेटमा मन्त्रालय बाँडफाँडबारे छलफल भएपनि कुनै निष्कर्ष भने निस्किएन ।
अध्यक्ष दाहाल आजै रोल्पा जाने कार्यक्रम भएकाले समय अभाव हुँदा मन्त्रालय बाँडफाँडबारे विस्तृत छलफल हुन नपाएको नेता गुरुङले बताए । दाहालले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री खनाललाई एमाले भित्रको विवाद समाधान गरेर मात्रै मन्त्रालय बाँडफाँडबारे छलफल अघि बढाउन प्रस्ताव गरेका थिए ।