काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार प्रमुख प्रतिपक्ष कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालले ७ बुँदे सहमतिबारे मंगलबार दिएको प्रस्टीकरण विरोधाभासपूर्ण रहेको जनाउँदै त्यसको खारेजीको माग गरेको छ ।
७ बुँदे खारेज गरी अन्य राजनीतिक दल समेतको संलग्नतामा गरिएको सहमतिले मात्रै मुलुकले निकास दिने उसको ठम्याइ छ । दाहाल र खनालले ‘सातबुँदे सहमतिको मूल मर्म र भावनाप्रति हामी पुनः प्रतिबद्धता व्यक्त गर्दछौं’ भन्दै त्यसमा उल्लिखित माओवादी सेनाका लडाकुको छुट्टै बल गठन गर्ने र सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा प्रस्टीकरण सहितको संयुक्त वक्तव्य सार्वजनिक गरेपछि कांग्रेसको यो प्रतिक्रिया आएको हो ।
‘एकातिर सातबुँदे कार्यान्वयनमा प्रतिबद्धता जनाउने, अर्कोतर्फ संशोधन गरेजस्तो गरी प्रस्टीकरण दिने कार्यले झनै भ्रम र अन्योल सृजना गरेको छ,’ कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले भने, ‘कांग्रेसको स्पष्ट माग नै सातबुँदै सहमति खारेजी हुनुपर्छ भन्ने हो । त्यसप्रति प्रतिबद्धता जनाएर दिइने स्पष्टीकरणले अन्योल खडा गरेको छ ।’
कांग्रेसले सात बुँदामा उल्लिखित विषयमध्ये माओवादी लडाकुको छुट्टै बल खडा गर्ने र दुई पार्टीबीच सरकारको आलोपालो नेतृत्व गर्ने सहमतिप्रति आपत्ति जनाउँदै आएको छ । दाहाल र खनालले लडाकु समायोजन र पुनःस्थापनाबारे विस्तृत शान्ति सम्झौताअनुसार राजनीतिक दलहरूको सहमतिको आधारमा विशेष समितिमार्फत सफल पारिने उल्लेख गरेका छन् । सरकार निर्माणबारे भने सहमतिका आधारमा अघि बढ्ने उल्लेख छ ।
महतले अरू दलसँग पनि बसेर सहमति गर्नुपर्नेमा पुनः दुई दलका नेता मात्रै बसेर सहमति गर्नुले आशंका कायमै रहेको बताए । ‘यसले थप भ्रम र आशंका बढाएको छ,’ उनले भने ।
महतले माओवादीलाई गृहमन्त्रालय दिए मुलुक भयावह अवस्थामा पुग्ने बताए । ‘माओवादी अझै पनि विच्छेद भएको छैन । लडाकुको शिविर कार्यगत रूपमा विशेष समिति मातहत आइसकेको छैन । घरजग्गा कब्जा गर्ने क्रम जारी छ । यस्तो अवस्थामा शान्ति सुरक्षाजस्तो क्षेत्र माओवादीको जिम्मा दिनु भनेको भयावह अवस्था सृजना गर्नु हो,’ महतले भने, ‘यसमा कांग्रेसको गम्भीर आपत्ति कायमै छ ।’ उनले खनाल नेतृत्वको सरकारमा पार्टी जान नसक्ने समेत बताए । ‘पार्टी केन्द्रीय समितिले सर्वसम्मत रूपमा प्रतिपक्षमा बस्ने निर्णय गरेको छ,’ सरकारमा जान खोजेको भनेर बाहिर आएका टीकाटिप्पणीप्रति महतले भने, ‘कुनै व्यक्तिलाई सरकारमा जान पाए हुन्थ्यो भन्ने लागेको होला तर पार्टी प्रतिपक्षमा बस्छ ।’