काठमाडौ – पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई अन्तिम श्रद्धान्जलि व्यक्त गर्न शनिबार बिहानैदेखि ललितपुरको बाँडेगाउँस्थित आश्रममा कांग्रेस नेता,कार्यकर्ता,शुभेच्छुक तथा विभिन्न राजनीतिक दलका नेताहरुको ताँती लागेको छ ।
भट्टराईको शवलाई आश्रममा राखिएको छ । बिहानै कांग्रेस सभापति सुशील कोइराला लगायतका नेताहरुले भट्टराईको पार्थिव शरीरमा श्रद्धान्जलि व्यक्त गरेका थिए । सिंगापुरमा रहेका कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा भट्टराईको निधनको खबर सुनेर शनिबार स्वदेश फर्किएका छन् । बाँडेगाउँ भट्टराई निवासमा पुगेर उनले श्रद्धान्जलि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री झलनाथ खनाल पनि अपारान्ह बाँडेगाउँ पुगेका छन् । उपराष्ट्रपति परमानन्द झा,सभामुख सुवास नेम्वाङ,उपप्रधानमन्त्री भरतमोहन अधिकारी, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,एमालेका केपी ओली,महासचिव ईश्वर पोखरेल,पूर्व गृहमन्त्री भीम रावल लगायतका नेताहरु अन्तिम श्रद्धान्जलि व्यक्त गर्न पुगेक थिए ।
श्रद्धान्जलि व्यक्तपछि प्रधानमन्त्री खनालले भट्टराई लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष भएको बताए ।’उनले मुलुकका लागि अतुलनीय योगदान गरेर जानुभएको छ,’खनालले भने-‘उनको सपना शाकार पार्नु नै उनीप्रति सच्चा श्रद्धान्जलि हुनेछ ।’
पूर्व राजा ज्ञानेन्द्र शाहका तर्फबाट उनका सचिव पशुपतिभक्त महर्जन शोक वक्तव्य लिएर बाँडेगाउँ पुगेका छिन् । पूर्व राजाले भट्टराईको त्याग र अठोट अनुकरणीय रहेको भन्दै उनको आत्मको चीर शान्तिको कामना गरेका छन् ।



