काठमाडौ – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको राजकीय सम्मानकासाथ आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भट्टराईको शनिबार राति ८६ वर्षको उमेरमा निधन भएको थियो ।
भट्टराईको पार्थिव शरीरमा साइँला दाइ गोपालप्रसाद भट्टराईका छोरा प्रमोदले दागबत्ती दिए । दागबत्तीअघि आर्यघाटमा प्रधानमन्त्री झलनाथ खनाल, सभामुख सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरु, कांग्रेस सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका नेताहरुले अन्तिम श्रद्धान्जली अर्पण गरे । आर्यघाटमा विभिन्न दलका शीर्ष नेताहरुसहित, पूर्व मन्त्री, सभासद्, कांग्रेस कार्यकर्ता र हजारौं सर्वसाधारणको उपस्थिति थियो ।
आर्यघाटमा नेपाली सेनाको एक टुकडीले स्वर्गिय भट्टराईप्रति अन्तिम सलामी दियो । आर्यघाटमा पुर्याउनुअघि दशरथ रंगशालाबाट हजारौंको शवयात्रा सुरु भएको थियो ।
अपरान्ह २ बजे रंगशालाबाट सुरु भएको शवयात्रा वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक, डिल्लीबजार, मैतिदेवी, नयाँ बानेश्वर, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो ।
शव यात्रालाई नेपाली सेना र प्रहरीको गाडीले स्कर्टिङ गरेको थियो । कांग्रेस नेता, कायकर्ता तथा हजारौं सर्वसाधारण शवयात्रामा सहभागी भए ।
शुक्रबार राति ११ बजेर २६ मिनेटमा नर्भिक अस्पतालमा भट्टराईको निधन भएको थियो । शनिबार दिनभर उनको पार्थिव शरीर बाँडेगाउँस्थित निवासमा राखिएको थियो ।
आइतबार बिहान भने कांग्रेस केन्द्रीय कार्यालयमा केहीबेर राखेपछि भट्टराईको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि दशरथ रंगशाला लगिएको थियो ।
रंगशालामा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस सभापति सुशील कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु, विदेशी कुटनीतिज्ञहरु, उच्चपदस्थ कर्मचारी तथा सुरक्षा निकायका अधिकारीहरुले श्रद्धान्जलि व्यक्त गरे । हजारौं सर्वसाधारण पनि श्रद्धान्जलि दिन रंगशाला पुगेका थिए ।