काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार राणा शासन विरोधी आन्दोलनका शहिद गंगालाल श्रेष्ठकी पत्ती हसिनादेवी श्रष्ठेको शनिबार राति निधन भएको छ । ९३ बर्षको उमेर श्रेष्ठको काठमाडौ मोडल अस्पतालमा निधन भएको हो ।
हाल छोरा, बुहारी, नाति र नातिनीहरुसहित उनी काठमाडौंको नयाँ बजारमा बस्दै आएकी थिइन् । उनलाई ब्रेन हृयामरेजका कारण अस्पताल भर्ना गरिएको थियो ।
काठमाडौंको बाङ्गेमुढामा जन्मेकी भएकी हसिनादेवीको विस १९८९ सालमा गंगालाल श्रेष्ठसँग विवाह भएको थियो । १९ वर्षको उमेरमा राणा शासकहरुले पति गंगालालको हत्या गरेपछि उनले कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ सहितकासबै भाइबहिनीहरुलाई छोराछोरीसरह हुर्काएकी थिइन् ।
उनको निधनप्रति प्रधानमन्त्री झलनाथ खनालले शोक व्यक्तव्य जारी गर्दै श्रद्घाञ्जलि प्रकट गरेका छन । प्रधानमन्त्रीले श्रेष्ठ नेपालको लोकतान्त्रिक आन्दोलनका एक ऐतिहासिक व्यक्तित्व एवं विराङ्गाना भएको उल्लेख गरेको छन् ।
‘आफ्ना पतिको क्रुर हत्या गरेपश्चातको ७० वर्ष लामो जीवनयात्रामा उनले धैर्य, सहयोग र सहनशीलताको प्रतिमूर्तिका रुपमा नै रहनुभएको थियो’ प्रधानमन्त्रीको शोक वक्तव्यमा उल्लेख छ,’ त्यतिबेला फासीको एक दिनअघि छोरा शशीलाल जन्मिएकाले उहाँ सुत्केरी अवस्थामा रहनुभएको थियो । र, आफ्ना पतिलाई अन्तिम पटक जेलमा भेट्नसमेत जान सक्नुभएको थिएन ।’
सहिदपत्नी हसिनादेवी स्वयंमा आम नेपाली महिलाहरुका लागि समेत प्रेरक ऐतिहासिक पात्र भएको प्रधानमन्त्रीले उल्लेख गरेकमा छन् ।
‘त्यागपूर्ण निष्ठा, जनसंघर्ष र बलिदानको ऐतिहासिक गाथाका रुपमा रहनु भएकी उहाँको रिक्तता सबैलाई खड्किरहनेछ ‘ शोक वक्तव्यमा छ ,’यस घडीमा म शोकसन्तप्त परिवारजनहरुमा गहिरो समवेदना पनि व्यक्त गर्न चाहन्छु । ‘
१९९७ सालमा गंगालालसहित धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्रीलाई राणा शासककले हत्या गरेका थिए ।



